सम्पूर्ण मिथिला क्षेत्रमा शुक्रवार लगपाँचे पर्व मनाइएको छ । मिथिला क्षेत्रका महोत्तरी, धनुषा, सर्लाही, सिराहा, सप्तरी, रौतहट, बारा, पर्सासहित भारतको मधुवनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनाका गाउँबस्तीमा आज लगपाँचे पर्व मनाइएको छ ।
मिथिलाका गाउँटोलका प्रत्येक घरमा आज विषहरा बाबा (नागदेवता)को विशेष पूजाअर्चना भएको छ । यो पर्वलाई विषहरा महारानी पनि भन्ने प्रचलन छ ।
मिथिलानीले आज बिहानै आआफ्ना घरआँगन गाईको गोबरले लिपपोत गरी सफा बनाएका छन् । यहाँका महिलाले प्रत्येक घरमा माटोको चुल्होमा पाकेको धानलाई माटोको भाँडोमा भुटेर लावा तयार गराइ लावा, गाईको दूध, सिन्दुर, अक्षता, आँपको अचारसहित पूजा सामग्रीले नागदेवताको पूजा गरी यो पर्व मनाइएको जलेश्वर–८ का पण्डित उपेन्द्र पाठकले जानकारी दिए ।
मिथिलानीले गाउँको वन वा भिरालो जमीननजीक सर्पको दुलो खोजी सोही स्थानमा केराको पातमा आँपको अचार, लावा, दूध, सिन्दुर, अक्षतालगायत पूजा सामग्री चढाएर नागदेवतालाई भोग
(खान)का लागि आह्वान गर्ने परम्परा रहेको उनले बताए । नागदेवता वा सर्पलाई पूजा सामग्री ग्रहणका लागि आह्वान गर्दै ‘हे विषहरा बाबा, हे विषहरा महारानी, मैले तपाईंको पूजा गर्दै खानाका सम्पूर्ण वस्तु चढाएको छु । तपाईंले मेरो कुल परिवारका कसैलाई कहिले कुनै दुःख नदिनु, सधैं सबैको रक्षा गर्नुहोला’ भनी आराधना गर्ने प्रचलन रहेको पण्डित पाठकले जानकारी दिए ।
“मिथिलानीले सबैभन्दा पहिला आँपको अचार चढाउँछन् । यसको अर्थ सर्पले परिवारका कुनै पनि सदस्यलाई टोक्न आउँदा सर्पको दाँत अमिलो भएर टोक्न नपाओस् भन्ने हो । त्यसपछि सर्पको पेट भर्न लावा, दूध, अक्षता र शृङ्गारका लागि सिन्दुर चढाउँछन्,” उनले भने ।
आजको राति मिथिलाको प्रत्येक घरका कोठामा धानको लावा छर्किएर सुत्ने प्रचलन रहेको जलेश्वर–६ का सीतादेवी मिश्रले बताइन् । “भोलि बिहान उठेर हेर्दा लावा हराउने विश्वास लिइन्छ,” उनले भनिन्, “राति छर्किएको लावा रात परेपछि विषहरा बाबा र विषहरा महारानी तथा नाग देवी/देवताले आएर खाइदिने गरेको जनविश्वास छ ।”
लगपाँचे पर्वपछि मिथिलामा आजैदेखि वर्षभरिका पर्व शुरू हुने गर्छन् । ‘भेल लगपाँचे, लागल सब पवनी नाचे’ अर्थात् लगपाँचे भए लगत्तै अब मिथिलामा सबै पर्व शुरू हुन्छन् भनी यो पर्व मनाउने गरिएको मिश्रले जानकारी दिइन् । “लगपाँचेका दिन मिथिलाको कुनै पनि घरमा रोटी पाक्दैन भने कसैले दूध पनि खाँदैनन् । आजका दिन विषहरा बाबा/महारानीले मात्रै दूध खाने जनविश्वास छ,” उनले भनिन् ।
लगपाँचे पर्वले सर्पबाट हुने हानिबाट परिवारका सदस्यलाई जोगाउने
साथै यसको समापनपछि मिथिलामा अन्य पर्व सुरुआत हुने भएकाले यसलाई धूमधामका साथ मनाउने गरिन्छ । यहाँका कतिपय गाउँमा विषहरा बाबा/महारानीको मन्दिर स्थापना गरिएको छ । मन्दिर भएका स्थानमा विशेष पूजासहित बलि चढाउने चलन रहेको छ ।