काठमाडौं, २२ साउन/रासस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद्मा परिवर्तन गर्न आफू सकारात्मक रहेको बताएका छन् । साथै उनले नाम परिवर्तनमा आफ्नो विमति नरहेको स्पष्ट गरेका छन् ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको मङ्गलवारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’लाई ‘आमसञ्चार परिषद्’का रूपमा नामकरण गर्न उनले समर्थन जनाएका हुन् । उनले भने, “मिडिया काउन्सिलको सट्टा आमसञ्चार परिषद् राख्नु उपयुक्त हुन्छ ।”

बैठकका सहभागीहरूले विधेयकको नाम नेपाली हुनुपर्ने माग गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले बताइन् । सचिव अर्यालले ‘मिडिया काउन्सिल’ प्रचलित रहेकाले यो असान्दर्भिक नहुने बताइन् । यद्यपि उनले नेपाली नामप्रति असहमति जनाइन् ।

समितिकी सभापति जयन्तीदेवी राईले नेपाली भाषाको संरक्षण गर्ने उद्देश्यले सांसदहरूले विधेयकको नाम आमसञ्चार परिषद् राख्नुपर्नेमा सबै सदस्यले जोड दिएको बताइन् ।

त्यस अघि सांसद मदनकुमारी शाह

(गरिमा)ले नेपाली भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएकोले विधेयकको नाम नेपाली नै हुनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

समितिका सदस्यहरू बेदुराम भुसाल, गङ्गाकुमारी बेलबासे, सुमित्रा बिसी, सुरेश आलेमगर, युवराज शर्माले विधेयकको नाम नेपालीमा राख्नुपर्ने बताएका थिए भने अर्का सदस्य कृष्णप्रसाद सिटौलाले मिडिया काउन्सिल पदावली विश्वभर स्थापित प्रचलित भएकोले त्यो पनि अमान्य नहुने तर्क गरेका थिए ।

समितिका अर्का सदस्य नारायणदत्त भट्टले मिडिया काउन्सिल पनि मान्य हुने बताएका थिए । विधेयकमा काउन्सिलको सिफारिश समिति छनोट, अध्यक्ष छनोट, उपभोक्ता सङ्ख्या, उमेरको हदबन्दीलगायतका विषयमा सबैको एउटै मत छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here