भद्रपुर (झापा), २१ साउन/रासस
बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वी नाका काँकडभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बङ्गलादेश व्यापारमा समेत परेको हो ।

गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरि आजदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भुटानको त्रिदेशीय नाका फूलबारी–बङ्गलाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै, बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्पm नै रोकिएका छन् । “बङ्गलादेशमा फेरि आन्दोलनले उग्ररूप लिएकोले आयात–निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन,” उनले भने ।

पारवहन कार्यालयको तथ्याङ्क अनुसार चालू आव २०८१/८२ मा ११ दिनमा रु एक करोड ३५ लाख ८९ हजार ५६३ मूल्य बराबरका सामग्री निर्यात र रु २० करोड ६५ लाख ६२ हजार ७३ को आयात भएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार दाल, जडीबुटी, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङ्गरोगनका पदार्थ बङ्गलादेश निर्यात हुन्छ । यसैगरी, जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफूलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।

आन्दोलन चर्किंदै गएपछि बङ्गलादेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here