वीरगंज (पर्सा), २० साउन/रासस
पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकोले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।

केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । “गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ,” उनले भने, “यो वर्ष यहाँ पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेका छौं ।”

केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार ३९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकोले रोपाइँ सहज भएको हो । पर्सामा आव २०७९/८० मा दुई लाख ३३ हजार १३५ मेट्रिकटन धान उत्पादन भएको थियो । यहाँका किसानले हर्दिनाथ, सोना मन्सुली र सावित्री जातका धान रोप्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here