वीरगंज, १८ साउन/रासस
पर्सामा विगत तीन वर्षयता घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आएको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटेको देखिन्छ ।
गत आर्थिक वर्षमा नयाँ ८९७ घरेलु तथा साना उद्योग थपिएका छन् । जबकि आव २०७९/८० मा एक हजार ८९ वटा उद्योग दर्ता भएका थिए । त्यस्तै, आव २०७८/७९ मा एक हजार ४८८ वटा उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले अघिल्लो आवको तुलनामा चालू आवमा नयाँ उद्योग दर्ता हुने सङ्ख्या केही घटेको बताए ।
“गत आर्थिक वर्षमा बैंकमा तरलता धेरै बढ्यो तर कुनै पनि उद्योगी–व्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा भने लिन सकिरहेका छैनन् । जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो”–उनले भने–“समग्र मुलुकभरिकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा पनि धेरै उद्योग थपिएका छैनन् ।”
आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा नयाँ उद्योग दर्ता सङ्ख्या १९२ ले घटेको देखिन्छ । कार्यालयका अनुसार गत आवमा उत्पादनमूलक र कृषि तथा वन अन्य उद्योगतर्पm छुट्टाछुट्टै १७९ नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै, निर्माणतर्पm १०१ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटनतर्पm ८०, सेवातर्पm ३५८ नयाँ उद्योग थपिएका छन् । गत आवमा ऊर्जामूलक, सूचना तथा सञ्चार र खनिजतर्पm उद्योग दर्ता भएनन् । गत आवमा दर्ता भएका सबै खालका उद्योगको चालू पूँजी भने रु एक अर्ब पाँच करोड ९८ लाख सात हजार ४५४ रहेको छ । गत आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार ४५५ जनालाई रोजगार सिर्जना गर्ने बताइएको छ ।
कार्यालयका अनुसार गत आवमा वाणिज्य प्रशासनतर्पm ५११ वटा नयाँ पसल दर्ता भएका छन् । विसं २०८० असोज २५ गतेदेखि वाणिज्य प्रशासनतर्पm दर्ता हुने पसलहरू पनि अहिले घरेलु तथा साना उद्योगमा दर्ता हुने व्यवस्था अनुसार थपिएका हुन् ।