काठमाडौं, १७ साउन/रासस
नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा बिहीवार निधन भएको छ । केही महीनादेखि मिर्गाैलामा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइरहेका उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिराहाको पोखरभिन्डा फर्केका थिए ।
दुई साता अघि जन्मथलो फर्केका उनले लहान अस्पतालमा डायलासिस गराइरहेका थिए । गुरुदेव निकट मानिने कवि मुकुन्द पौडेलका अनुसार पछिल्ला दिनमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तीन दिन पहिलेदेखि खाना खानसमेत छाडेका थिए ।
उनले भने–“गुरुदेवले तीन दिनदेखि केही खान सक्नुभएको थिएन । उहाँलाई चम्चाबाट केही सामान्य झोलिलो खानेकुरा खुवाइएको थियो । केही समय अघि काठमाडौं छाडेर उहाँ जन्मथलो फर्किनुभएको थियो । जहाँ उहाँको जन्म भयो, त्यहीं अन्त्य भयो ।”
साहित्यकार पौडेलसँगै कलाकार राधेश्याम विश्वकर्मा, गायक प्रभात सागरलगायतले गुरुदेवको मिर्गाैला फेर्न आर्थिक समस्या भएको थाहा पाएपछि सहयोग जुटाउन पहल गरिरहेका थिए । दिवङ्गत कामतकी पत्नी, तीन छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि गाउँँमैं गरिने साहित्यकार पौडेलले बताए । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात थिए ।