काठमाडौं, १६ साउन/रासस
भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ।

काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो। काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबीखोला करिडर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौंको फुटुड्ढो नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित २, सुन्दरीघाटबाट ८, बालकुमारी पुलमुनिबाट १, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ।

बल्खु खोलाले बगाउँँदा एकजनाको मृत्यु
बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ। प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरूप महतोको शव भेटिएको जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो। मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ।

काठमाडौं उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबीखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो। बाढी खोला किनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here