यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिंदा कारोबार रकम छ अर्ब नाघेको छ। नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार १४० दशमलव ९७ बिन्दुमा कायम भएको हो।
आज ३२५ कम्पनीका एक करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर ८० हजार ८३८ पटक खरीद–बिक्री हुँदा रु छ अर्ब २९ लाख ३१ हजार ८५४ बराबरको कारोबार भएको छ।
विकास बैंक समूह शून्य दशमलव २४, वित्त समूह दुई दशमलव ०७ र व्यापार समूह दुई दशमलव २३ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेका छन्। बैंकिङ शून्य दशमलव ७८, होटल तथा पर्यटन दुई दशमलव ९६, जलविद्युत् शून्य दशमलव ०१, लगानी एक दशमलव ८५ र जीवन बीमा एक दशमलव ५२ प्रतिशतल बढेका छन्।
उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त एक दशमलव ४६, म्युचुअल फन्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ३२ र अन्य समूहका उपसूचक दुई दशमलव २५ प्रतिशतले बढेका छन्।
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव २५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ७१ लाख ४८ हजार ८०१ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चार लाख ७५ हजार ७३० कित्ता शेयर किनबेच भएको छ।