पानीबेगरको बडहरी खोलावारि महोत्तरीका बर्दिबास–७ प्रेमनगर र भङ्गाहा–४ को रामनगर, पारिपट्टि धनुषाको बटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन्। खोला वारि र पारि आँपका बगान (बगैंचा) छन्। आँपको यही पकेट क्षेत्रमा आज आँप महोत्सव सम्पन्न भएको छ।
महोत्सवमा जताततै ढकीढकीमा सजाएर राखिएका विभिन्न थरीका आँप छन्। मालदह, दशहरी, बमई, किसनभोग, आम्रपाली, मल्लिका, स्वर्णरेखा, गुलावखास, मिसरिया, डोल्मा, केरवा, लालमोहन, लरुवा र कलकतियालगायतका आँपले महोत्सव सुगन्धित छ। दर्शकहरू थरीथरीका आँपको स्वाद लिन व्यस्त छन्। आँप उत्पादक किसानले भने अवलोकनकर्तासँग आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन्।
आँप उत्पादनको पकेट क्षेत्र भएपनि यसबारे कतैबाट चासो वास्ता नपाएपछि बटेश्वर–१ का किसानले आज आँप मेला आयोजना गरेका हुन्। “हाम्रो मुख्य फसल यही (आँप) हो, न बजार छ, न केही दिन सुरक्षित थन्क्याउने चिस्यानघर छ,” महोत्सवको अवलोकन गरिरहेका मधेस प्रदेशसभाका प्राकृतिक स्रोत साधन समितिका सभापति शारदा पहाडीसँग ७५ वर्षीय किसान रामविलास महतोले भने, “लौ न, हाम्रा कुरा पनि सुनिऊन्।”
महोत्सव अवलोकन गर्न पुगेका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारी, महोत्तरी/धनुषाका सञ्चारकर्मीहरू, उद्योगी/व्यवसायी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, व्यापारी र जनप्रतिनिधिबीच कुराकानी गर्ने सबै किसानले रामविलास महतोकै कुरा दोहो–याएका छन्।
“उत्पादनको पकेट क्षेत्रमैं मेला महोत्सव गरेर तपाईंहरूलाई आफ्नो व्यथा सुनाउन चाहेका हौं,” ६५ वर्षीय किसान रामगुलाम महतोले भने, “हाम्रो मर्का सबैले सुन्ने, बुझ्ने गरी खबर बनाइदिनुस्।” आँप धमाधम पाक्न थालेपछि तत्काल बजार पुर्याउन नसके रूखबाट झरेर सड्छन्। त्यसैले केही दिन आँप थन्क्याएर पछि भाउ पाउने गरी बेच्न चिस्यानघर जरुरी भएको रामगुलामको भनाइ छ। चिस्यानघरको प्रबन्ध भए निकै राहत हुने महोत्सवमा आँप उत्पादक किसानले बताएका छन्।
मेलाको आयोजना नै यहाँको आँप बगैंचा देखाउन, आँपको स्वाद चखाउन, होटल व्यवसायी र व्यापारीलाई यहाँको आँपबाट आकर्षित गराउन र आँप पकेट क्षेत्रको प्रचारप्रसार गराउनु रहेको आँप मेला आयोजक समितिका संयोजक फूलगेन मगहीले स्पष्ट पारे।
“आजको महोत्सव आँप बेच्ने उद्देश्यले आयोजना गरिएको होइन, पाहुनालाई यहाँका बगैंचा देखाउन र यहाँका थरीथरीका आँप चखाउन आयोजना गरिएको हो,” मगहीले महोत्सव आयोजनाबारे स्पष्ट पार्दै भने।
महोत्सवमा महोत्तरी र धनुषाका विभिन्न भेगका विद्यालयका शिक्षक तथा विद्यार्थीहरू पनि सहभागी भए। एक दिने महोत्सवले आँपका पारखीहरूको चासो बढाउने बटेश्वर–१ का अध्यक्ष अशोककुमार महतो बताउँछन्।
असार १५ पर्वको एक दिनअघि आयोजित महोत्सवले यहाँ आँप खोज्न आउने बढ्छन् भन्ने किसानको अपेक्षा छ। यहाँ उत्पादित आँप नजीकको ढल्केबर, बर्दिबास, भङ्गाहा र महेन्द्रनगरका बजारसम्म पुर्याएर बेच्ने गरिएको स्थानीय किसान रामउद्गार महतोले बताए। आँपको आवश्यक प्रचारप्रसार हुन सके यहाँको उत्पादनको बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको मधेस प्रदेशसभा सदस्य शारदा पहाडीले बताइन्। आफूले यहाँका किसानका गुनासा प्रदेश सरकारका मुख्यमन्त्री, कृषिमन्त्री र प्रदेशसभासम्म पुर्याउने पहाडीले प्रतिबद्धता जनाइन्।