काठमाडौं, ९ असार/रासस

सिन्धुपाल्चोक र आसपासका जिल्लाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएको छ। कुल २२०/१३२ केभी क्षमताको सबस्टेशनमा १६० एमभिए, १३२/११ केभी र पाँच एमभिएका पावर ट्रान्सफर्मर रहेका छन्।

ग्याँस इनसुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेशनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ। बाह्रबिसेमा ४०० केभीको अर्काे सबस्टेशन पनि निर्माणाधीन अवस्थामा छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाईमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेशनमा जोडिने छ। मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेशनलाई चार्ज गरिने विद्युत् प्राधिकरणले जनाएको छ।

निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन शुरू गर्न संरचना तथा उपकरणहरू परीक्षण गर्ने क्रममा सुरुङबाट पानी चुहिएपछि हाल सुरुड्ढो मरम्मत भइरहेको छ। सुरुङ मरम्मत आगामी भदौ दोस्रो साताभित्र सक्ने लक्ष्य राखी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

घिसिङसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिवार सबस्टेशन, प्रसारण लाइन र मध्यभोटेकोशीको सुरुङ मरम्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे। कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भइसकेकोले मध्यकोटेकोशीबाट उत्पादित विद्युत् प्रवाहमा समस्या नरहेको उल्लेख गरे।

“सबस्टेशन तयार गर्न नसक्दा मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिने हो कि भन्ने अवस्था थियो, अब २२० केभीे सबस्टेशन निर्माण सम्पन्न भइसकेपछि आयोजनाको विद्युत् जोड्न विभिन्न विकल्प तयार भएका छन्। चुहिएको सुरुङ मरम्मतका लागि पनि केही समय लाग्ने देखिएको छ, त्यसैले अब प्रसारण लाइन तथा सबस्टेशन अभावमा आयोजनाको विद्युत् खेर जाने अवस्था छैन”–उनले भने।

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेशनमा जोडिने छ। आयोजनाले आप्mनो विद्युत्गृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेशनसम्म करीब चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावर निर्माण गरिसकेको कार्यकारी निर्देशक घिसिङले बताए। प्रसारण लाइनको करीब दुर्ई किलोमिटर तार तानिएको छ। बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुर्ई किलोमिटर तार तान्न नसकेको उनको भनाइ छ।

मध्यभोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरिएको छ। कुल २२० केभी क्षमताको प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेशनमा पुगेको विद्युत् सोही सबस्टेशनमार्फत १३२ केभीमा झारेर प्रवाह गरिने प्राधिकरणले जनाएको छ। यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाएर बाह्रबिसे सबस्टेशनमा लगिने छ।

सोही प्रसारण लाइनबाट मध्यभोटेकोशीको विद्युत् लामोसाँघु सबस्टेशन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ। उनका अनुसार उक्त लाइन सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ।

तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेशनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ। प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये दुर्ईवटाको मात्र निर्माण बाँकी छ। नयाँ खिम्ती सबस्टेशन नजिक स्थानीयको अवरोधका कारण एउटा टावर निर्माण हुन सकिरहेको छैन।

सोही क्षेत्रमा प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाधनीले जग्गाको शतप्रतिशत क्षतिपूर्तिको माग गरेपछि करीब १.३ किलोमिटर तार तान्न समस्या भएको घिसिड्ढो भनाइ छ। उनका अनुसार कुल ४३ किलोमिटर प्रसारण लाइनमध्ये ३४ किलोमिटर तार तानिएको छ।

बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किमी ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। उक्त प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण पाँचवटा टावरको निर्माण बाँकी छ। अहिले स्थानीयको अवरोध हटिसकेकोले टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण प्रक्रियामा रहेको आयोजना प्रमुख नीतेश पौडेलले बताए। “उक्त प्रसारण लाइनमध्ये ४२ किमी तार तानिसकिएको छ। अवरोध भएको ठाउँको मात्र काम बाँकी छ”–उनले भने।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौं प्रसारण लाइन र सबस्टेशन निर्माण गरिएको हो। आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋण रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here