कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपक्षीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिंदै उनले धान रोपाइँमा किसानलाई मल अभाव नहुने र किसानलाई समयमैं मल वितरण गर्न मन्त्रालय लागेको बताइन्।
उनका अनुसार चालू आर्थिक वर्षको रु २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट रु छ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा पाउन सकिने भएको छ। साथै दुई लाख मेट्रिकटन मलको बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिए।
गत जेठ २८ सम्म तीन लाख ९० हजार मेट्रिकटन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिकटन मल बिक्री वितरण भएको छ। गत वर्षको समेत गरी कुल ९६ हजार मेट्रिकटन मल मौज्दात रहेको उनले जानकारी दिइन्।
दुग्ध किसानको भुक्तानीमा ३० करोड ऋण सकियो
सोही मन्त्री साहले दुग्ध किसानलाई भुक्तानी गर्न रु ३० करोड लिएको ऋण सकिएको जानकारी दिंदै थप भुक्तानीका लागि ऋण लिन दुग्ध विकास संस्थानलाई निर्देशन दिएको बताइन्।
“मन्त्रालयले रु ३० करोड लिई किसानको भुक्तानी गरिसकेको छ,” मन्त्री साहले भनिन्, “बाँकी भुक्तानीका लागि थप ऋण लिन संस्थानलाई निर्देशन दिएकी छु।” उनका अनुसार सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दैनिक डेढ लाख लिटरसम्म दूध सङ्कलन गरिरहेको र बाँकी दूध निजी दुग्ध उद्योगहरूले सङ्कलन गरिरहेका छन्। दूध खरीद गरेपछि प्रत्येक दिन किसानलाई भुक्तानी गर्दै आइरहेको उनको भनाइ छ।