विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ। डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन्।
निवर्तमान निर्देशक फारिस हदाद जर्भाेसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रूपमा नेपाल पठाएको हो। अर्थ मन्त्रालयले आइतवार एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री पुनले आइतवार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरूको स्वागत र बिदाइ गरे। देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ।
लाडा स्ट्रेलकोवा आप्mनो कार्यकाल सम्पन्न गरी फर्केका छन् भने उनको ठाउँमा प्रीति अरोडा आएकी छन्। स्वागत तथा कार्यक्रममा अर्थमन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरे। साथै निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा शुरू भएका प्रयासहरूको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने उनले विश्वास व्यक्त गरे।
नेपालमा मङ्गलवारदेखि शुरू हुने विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको बैठक (आइडा–२१) को पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुशी लागेको अर्थमन्त्री पुनले बताए। निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको तथा फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिका रूपमा मात्र नभई नेपालको मित्रका रूपमा भूमिका खेलेको उनले उल्लेख गरे।
नेपालमा विश्व बैंकको ‘पोर्टफोलियो’ विस्तार, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्वपूर्ण काम भएको अर्थमन्त्री पुनले स्मरण गरे। विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र तीन पाइपलाइनका गरी २३ परियोजनामा लगानी गरेको छ।
अमेरिकी नागरिक फारिस विसं २०७३ असारमा विश्व बैंकको नेपाल निर्देशकका रूपमा आएका थिए। त्यस अघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए।
नवनियुक्त देशीय निर्देशक डेभिड अमेरिकी नागरिक हुन्। उनी यस अघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरूका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी व्यवस्थापकका रूपमा कार्यरत थिए।
उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एशिया र एशिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ। नवनियुक्त देशीय निर्देशक डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन्।
स्वागत तथा बिदाइ कार्यक्रममा मुख्यसचिव डा वैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एशिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर सहभागी थिए।