हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगंजको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। नेपालगंज नेपालकै तातो ठाउँको रूपमा जानिन्छ। त्यस्तै, धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो।
यता काठमाडौंको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र पुग्दा तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी। गर्मीको तात्तातो चर्चा काठमाडौंमैं बढी देखिन्छ। ‘उफ् गर्मी पनि कति सारो बढेको ? पहिलेपहिले त यस्तो उल्का गर्मी महसूसै भएको थिएन’ काठमाडौं उपत्यकाका नागरिकको वार्तालापको पहिलो वाक्य अहिले यही हुने गरेको छ।
ललितपुरस्थित गोदावरी नगरपालिकाकी राधा घिमिरे भन्छिन्, “गर्मी पनि कति सारो बढेको हो ? यसो बाहिर निस्कनै सकिंदैन। घरमा मात्रै बस्दाबस्दा अत्यास नै लाग्ने। पहिले त चितवनतिर जाँदा मात्र यस्तो अनुभव हुन्थ्यो, यहाँ यस्तो गर्मी भएजस्तै लाग्दैनथ्यो।”
काठमाडौं बूढानीलकण्डकी शोभा सापकोटालाई पनि पहिलाभन्दा यसपटक धेरै गर्मी भएको अनुभव भएको छ। “४० वर्ष भइसक्यो काठमाडौं बसेको, यस्तो गर्मीको अनुभव त छँदै थिएन,” उनी भन्छिन्, “गर्मी पनि अत्यासलाग्दो। अझै तराईमा कस्तो होला ?” उनीहरू मात्रै होइन। सिन्धुली घर भई भक्तपुर लोकन्थली बस्ने दुर्गा तिमल्सिनालाई पनि गर्मीले निकै अत्याएको छ। “अहिलेको जस्तो गर्मी पहिले कहिल्यै अनुभव भएन, गर्मीले रिङ्गटा नै लाग्छ,” उनी भन्छिन्, “पहिलापहिला त काठमाडौं आउँदा पङ्खा नै नलगाइ बस्न सकिन्थ्यो, यसपटक त पङ्खाले पनि गर्मी छेक्न सकेन।”
धनगढी, नेपालगंजलगायत तराईका क्षेत्रको जस्तो गर्मी उपत्यकामा छैन, तर अझै यहाँका मानिसहरूलाई गर्मीले अत्याएको छ। त्यो ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरूलाई गर्मीले कति अत्याएको होला ? घाम भनेर काम छलेर बस्न पनि सबैलाई कहाँ पुग्ला र ? घामको प्रवाह नगरी काम गर्नेहरूलाई कति गा–हो भएको होला ? तराईमा बसोबास गर्ने केही पात्रसँग टेलिफोनमार्फत गर्मीले पारेको प्रभावको विषयमा कुराकानी गर्ने क्रममा बढी गर्मीका कारण कामकाजमा समेत बाधा पुगेको अनुभव बताएका थिए।
चितवन क्षेत्रपुरकी मीरा धिताललाई पनि पहिलापहिलाको भन्दा यसपटक गर्मी अलि बढेको अनुभव भएको छ। “गर्मीका कारण आएको पसिनाले लुगा नै निथु्रक्कै भिजाउँछ, एकदमै गा–हो बनाएको छ,” उनी भन्छिन्, “दिउँसोको समयमा त बाहिर निस्कन र काम पर्दा समेत हिंड्डुल गर्न नै मुश्किल पर्छ। बच्चाहरूसमेत गर्मीले गर्दा टाउको दुख्यो भनेर पढ्नै सक्दैनन्।”
गर्मीले सल्लाघारीको जङ्गल पनि उत्तिकै तात्छ। अन्य बोटबिरुवाले जस्तो सालको बिरुवाले शीतलता दिंदैन। त्यसमाथि ४२ डिग्री सेल्सियससम्मको तापक्रमले तातिएको मौसम। तर तातो मौसम भनेर काममा नगई बस्ने छुट हुँदैन, सुदूरपश्चिम, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईलाई। तातो मौसममा फिल्ड हिंड्दा निकै गा–हो हुने र तातोले टाउको दुख्ने समस्या बढेको उनी बताउँछन्। “तातो छ भनेर मन्त्रालयभित्र मात्रै बस्ने छुट कहाँ छ र ? फिल्ड पनि हिंड्नुपर्छ। फिल्ड खटाउँदा कर्मचारीहरू बिरामी पर्नुहुन्छ। नखटाएर पनि भएन,” टेलिफोन वार्तामा उनी भन्छन्, “सरकारी सेवामा खटिने शपथ खाएर आएका हौं, गर्मी भयो भनेर बस्न पनि भएन नि।”
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले जलवायु परिवर्तनको असरका कारण तापक्रम बढेसँगै गर्मीसमेत बढेको बताइन्। “नेपालमा मनसुन भित्रिए पनि वर्षा हुन सकिरहेको छैन, यसले तापक्रम पनि बढाएको छ,” उनले भनिन्, “जलवायु परिवर्तनको असरले गर्दा पृथ्वी तात्दै जाने र यसले गर्दा नेपालको समेत तापक्रम बढ्ने तथा यसले गर्दा तातो हावाको लहर (लू)को जोखिम, सुक्खा बढ्ने, खडेरीका कारण कृषि उब्जनीमा –हास आउने, पानीको मुहान सुक्नेलगायतका समस्या उत्पन्न हुनेछ।” पोखरेलले जलवायु परिवर्तनले मौसमी अवस्थामा पारेको असर, आगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिम, तापक्रमको प्रक्षेपणलगायतका विषयमा जानकारी दिनेगरी अध्ययनसमेत भइरहेको जानकारी दिएकी छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गर्मी मौसममा असामान्यरूपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ’लू’ भनिन्छ। यो एक प्रकारको प्राकृतिक प्रकोप हो। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खासगरी नेपालको तराई क्षेत्रमा धेरै गर्मी भएको समयमा तातो हावाको लहर ‘लू’ चल्न सक्ने र यसले स्वास्थ्यमा असर गर्ने भन्दै सचेत हुनुपर्ने जानकारी दिएका छन्।
बढी गर्मीका कारण थकान र कमजोरी महसूस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोश हुने, मुटुको धड्कन बढ्न सक्ने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार छाला सुक्खा र रातो हुने, पिसाबको रङ्ग पहेंलो हुने, सास फेर्न गा–हो हुने र रक्तचाप कम हुने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोश हुने वा कोमाको लक्षण देखिन सक्छ।
लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होशमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको चीसो पेयपदार्थ, बियर, जाँडरक्सी नदिने, पङ्खाले हम्कने गर्नुपर्छ। भिजेको चीसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टि लगाइदिने, बिरामीलाई गा–हो भएजस्तो लागेमा नजीकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, चर्काे घाम लागेको बेला सकभर घरबाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने कार्य गर्न समेत सुझाव दिइएको छ।
जलवायुविद् डा धर्मराज उप्रेतीले समुद्री सहतको तापक्रममा फेरबदल (अल निनो टू ला नीना) भएकाले नेपाललगायत एशिया प्रशान्त क्षेत्रमा औसतभन्दा बढी तापक्रम र बढी वर्षा हुने क्रम बढिरहेको भन्दै समयमा नै सतर्कता अपनाउन जरुरी रहेको बताए। “जलवायु परिवर्तनका कारण समुद्री सतहको तापक्रममा फेरबदल आइरहेको छ,” उनले भने, “जलवायु परिवर्तनसम्बन्धी न्यूनीकरण र अनुकूलनका कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन हुन नसके तापक्रम बढ्नेलगायत जलवायुजन्य असर अझै बढिरहनेछ।”
प्रशान्त महासागरको पूर्वमध्य उष्ण भागको सतहको पानी औसतभन्दा उल्लेख्य धेरै तातेर बन्ने मौसमी प्रवृत्तिलाई अल निनो भनिन्छ। अल निनो सक्रिय भएको समयमा यसले संसारभरिकै वर्षाको स्वरूप र मौसमलाई असर गर्छ र तापमान वृद्धि गर्छ।
अल निनो नामक मौसमी प्रक्रियामा अस्वाभाविकरूपमा तापमान वृद्धि भएको हुन्छ भने ला निनामा अस्वाभाविकरूपमा तापमान घट्छ। ला निना भूमध्य रेखामा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा हुने गर्छ। अल निनोले जस्तै यसले पनि संसारभर वर्षा तथा वायुमण्डण्डलीय चापलाई प्रभावित गर्छ।
जनस्वास्थ्यविद् डा समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्ने जानकारी दिए। “लूका कारण श्वास फेर्न गा–हो हुने, रगतजन्य समस्या आउन सक्ने तथा छाला चिलाउने र शरीरमा घाउ हुन सक्छ,” उनले भने, “उच्च रक्तचाप कम हुने तथा आँखाको समस्या हुन सक्छ। विभिन्न रोगका कारण दीर्घकालीनरूपमा असर पुग्ने र मानिसको मृत्यु पनि हुन सक्छ।”
डा अधिकारीले तातो हावाको लहरबाट बच्नका लागि व्यापक जनचेतना र जनसहभागिता तथा समन्वय गरेर लू व्यवस्थापन गर्न सुझाव दिए। लूबाट कसरी सुरक्षित रहने ? कसरी पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्ने ? भन्ने विषयमा कार्यक्रम तय गर्न आवश्यक रहेको उनको भनाइ छ। उनका अनुसार गर्मीका कारण शरीरमा आलस्य पनि बढ्न सक्छ।
भोलिसम्म अत्यधिक गर्मीको सम्भावना
जल तथा मौसम विज्ञान विभागले बिहीवारसम्म नै अत्यधिक गर्मीको सम्भावना रहेकोले सतर्कता अपाउन भन्दै विज्ञप्ति नै जारी गरेको छ। विभागका अनुसार मङ्गलवार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन विभागको अनुरोधसमेत गरेको छ। “ती भूभागहरूमा आगामी तीन दिन (२०८१ जेठ २९ देखि २०८१ जेठ ३१ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” विभागद्वारा विज्ञप्तिमा तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले त्यसबाट बच्न अनुरोध गरिएको छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा के के गर्ने भन्ने विषयमा जल तथा मौसम विज्ञान विभागले सुझावसमेत दिएको छ। “घरभित्र अर्थात् चीसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी ननिस्कने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउन विभागले विज्ञप्तिमार्फत सुझाएको छ।
तातो अझै बढ्ने जोखिम
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको धाराको धारा २ उपराधारा १ को (क)मा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीयरूपमा घटाउने कुरालाई आत्मसात् गर्दै विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्वऔद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्वऔद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने उल्लेख गरिएको छ।
पेरिस सम्झौता कार्यान्वयनका लागि हरेक वर्ष हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको भेलामा समेत पेरिस सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ। नेपालको नेतृत्वमा यही जेठ ९ र १० गते चन्द्रागिरिमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्वतीय संवादमा समेत तापक्रम वृद्धि रोक्नुपर्नेमा विज्ञहरूले जोडदार माग राखेका थिए।
जलवायु नीतिको कार्यान्वयनमा जोड
जलवायु नीति २०७६ मा जलवायुजन्य प्रकोपको रोकथाम, न्यूनीकरण र पूर्वतयारी गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहमा प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्रणालीको विकास गरिने उल्लेख छ। यसैगरी, बाढी, पहिरो, भूक्षय, खडेरी, चट्याङ, हावाहुरी, तातो हावाको लहर, शीतलहर, वन डढेलो, आगलागी, महामारीलगायत प्रकोपको अनुगमन, पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विकास गरी पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाइनेसमेत नीतिमा उल्लेख गरिएको छ।
जलवायुजन्य विपद्सम्बन्धी सूचना सङ्कलन गर्ने प्रणालीलाई थप व्यवस्थित र व्यापक बनाइने, जलवायुजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचनामा सबै वर्ग, तह र क्षेत्रको पहुँच पुग्ने व्यवस्था मिलाइनेसमेत नीतिमा व्यवस्था गरिएको छ। विपद् जोखिम न्यूनीकरण कार्यलाई जलवायु परिवर्तन अनुकूलन योजना तथा कार्यक्रमहरूसँग एकीकृत गरिने, जलवायुजन्य प्रकोपहरूबाट हुने क्षतिबाट पुनरुत्थानका लागि अति सङ्गटासन्न र जोखिममा रहेका व्यक्ति र परिवारहरूको सामाजिक सुरक्षाको प्रत्याभूति गरिने कुरा नीतिमा उल्लेख गरिएको छ, तर नीतिको प्रभावकारीरूपमा कार्यान्वयन हुनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।