पर्साको पोखरिया अस्पतालमा मेडिसिटी अस्पताल काठमाडौंको सहकार्यमा विभिन्न जटिल रोगबाट ग्रसित बिरामीहरूको निश्शुल्क उपचार गर्ने सम्बन्धमा सोमवार छलफल भएको छ। पोखरिया अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादव र मेडिसिटी अस्पताल काठमाडौंका निर्देशक विजय रिमालबीच पोखरिया अस्पतालमैं छलफल भएको हो।
छलफलमा निर्देशक रिमालले गाउँँमा पैसाको अभावमा बिरामीले अल्पायुमैं ज्यान गुमाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी पोखरिया अस्पतालमैं जटिलभन्दा जटिल रोगबाट ग्रसित बिरामीको निश्शुल्क उपचार गर्न आफूहरू तयार रहेको बताए।
पोखरिया अस्पतालको सभाहलमा भएको छलफलमा नेपाल मेडिसिटी वयोधा अस्पताल वीरगंजका प्रशासन प्रमुख विष्णु पटेल, डा विश्वनाथ कण्ठ, भुवन आलम, वडाध्यक्ष लक्ष्मण साह कानू, पोखरिया अस्पताल प्रशासन शाखाका लक्ष्मीप्रसाद चौहान, बृजेश द्विवेदीलगायत सरोकारवालाहरूको सहभागिता थियो।