काठमाडौं, २७ जेठ/रासस

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकोले सतर्क रहन अनुरोध गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले गर्मी बढ्ने भएकोले आवश्यक तयारीका साथै सावधान रहन सबैमा अनुरोध गरेको छ। विभागका मौसमविद् बिनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिइन्।

विभागले भनेको छ–“तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकोले त्यसको असरबाट बच्न आवश्यक सतर्कताका उपाय गर्न अनुरोध छ।” मौसमविद् महर्जनका अनुसार यस अघि नेपालगंजमा यो वर्षको सबैभन्दा बढी ४४.२ डिग्री र धनगढीमा ४४.१ डिग्री तापक्रम मापन भएको थियो।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकोले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ।

“तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चीसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिंड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ”–उनल भने।

विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक  प्रभाव रहेको छ। आज कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भूभागमा मौसम सफा रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक–दुर्ई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागले दिएको जानकारी अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हुरीको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here