काठमाडौं, २६ जेठ/रासस

झन्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौंडा सबस्टेशन निर्माण सम्पन्न भएको छ।  देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ–याङमा सो सबस्टेशन निर्माण भएको हो। ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय केभी हेटौंडा सबस्टेशन निर्माण सम्पन्न गरी शुक्रवार साँझदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ। यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभ–याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेशन निर्माण सम्पन्न गरी शुक्रवार नै चार्ज गरिएको छ।

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँग विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेशन हो। हेटौंडा सबस्टेशनको निर्माण सम्पन्न भएसँगै करीब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ। हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम पनि चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिकरूपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँग विद्युत् व्यापार थप विस्तार हुनेछ।

आयोजना अन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनै लागेको छ। हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ। हेटौंडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन। अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौंडा सबस्टेशनबाट स्थानीयरूपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौंडा, भरतपुर, सिमरा तथा वीरगंज क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए।

कार्यकारी निर्देशक घिसिङले भने– “नेपालका मध्य क्षेत्रका नदी करिडरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रीडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौंडा–ढल्केबर चार सय केभी प्रसारण लाइनमार्फत भारत निर्यात गर्न थप सहज हुनेछ, साथै हेटौंडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेशनसम्म विद्युत् प्रवाह सहज हुनेछ।”

हेटौंडा सबस्टेशनलाई आवश्यकता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेशनमा ल्याएर जोडिने छ। यसका लागि हेटौंडा सबस्टेशनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले बताए।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रम अन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेशन विस्तार आयोजना शुरू भएको थियो। आयोजना अन्तर्गतका तीनै सबस्टेशन निर्माण सम्पन्न भएका छन्। हेटौंडा सबस्टेशन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो। सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण भएको २२०, १३२ र ११ केभी हेटFैंडा सबस्टेशन निर्माणका लागि डिसेम्बर २०१८ मा ठेक्का सम्झौता भएको थियो। सो सबस्टेशनको अनुमानित लागत रु तीन अर्ब रहेको छ। विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको बन्दाबन्दीले निर्माण प्रभावित भएको थियो। कोरोना महामारीका कारण सबस्टेशनमा जडान हुने विभिन्न उपकरण र प्राविधिक पूर्वनिर्धारित समयमा नै आयोजनास्थलसम्म आइ नपुगेको तथा अन्य कारणले आयोजना निर्माणमा केही ढिलाइ भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here