नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजको चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार ४६१ पुगेको छ।
गत आवभन्दा चालू आवको १० महीनामा बक्यौता रकम रु २७ करोड ८१ लाख ९७ हजार चार सयले बढेको छ। यो बक्यौता रकम ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका पाँच उद्योगसहित अन्य औद्योगिक, घरायसी ग्राहक र सडकबत्तीबापतको हो।
केन्द्रका अनुसार चालू आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई अर्ब २७ करोड १० लाख २२ हजार १९४ रहेको छ। त्यसैगरी, सडकबत्तीको बक्यौता रकम रु २१ करोड २८ लाख ३५ हजार ५०६ रहेको छ। त्यस्तै, घरायसी ग्राहकको बक्यौता रकम पनि रु ५३ करोड ४५ लाख ६७ हजार १८७ छ।
केन्द्रको गत आवको असार मसान्तसम्म बक्यौता रकम रु तीन अर्ब १५ करोड ४० लाख २६ हजार ४५७ पुगेको थियो। प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख अवधेशकुमार दुबेले चालू आवको वैशाख मसान्तसम्म विद्युत् महसूल भुक्तानी नगर्ने तीन हजार ३९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आएको बताए।
“वीरगंज वितरण केन्द्र मातहत पाँचवटा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइनबाट बिजुली लिएका उद्योगहरूले गर्दा बक्यौता रकम उच्च देखिएको हो”–उनले भने–“यो वर्ष हामीले कम्तीमा चार हजार घरको लाइन काटेर बक्यौता उठाउने कोशिश गरिरहेका छौं।” केन्द्रले बक्यौता मासिक नतिर्ने तीन सयभन्दा धेरै ग्राहकको घरको बिजुली काट्दै आइरहेको छ।
कार्यालय प्रमुख दुबेका अनुसार मासिक विद्युत् महसूल तिर्नुपर्छ भन्ने चेतना अभावका कारण पनि महसूल तिर्न आनाकानी गर्दै आइरहेका छन्। “करीब ४० प्रतिशत ग्राहकले मात्रै नियमित र समयमा महसूल तिर्दै आइरहेका छन्”–उनले भने–“छिमेकीले बिजुलीको महसूल नतिरेर लाइन काटियो भन्ने हल्ला गाउँभरि फैलिएपछि मात्रै महसूल तिर्न आउने पनि भेटिन्छन्। त्यसैले पनि बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाउँदै आएका छौं।
गत आवको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई अर्ब तीन करोड ६२ लाख ११ हजार ७६९ रहेको थियो। सोही वर्ष सडकबत्तीबापत बक्यौता रु १८ करोड ६७ लाख ७८ हजार १० रहेको थियो। घरासयी ग्राहकको बक्यौता रकम रु ५३ करोड ७४ लाख ५३ हजार ७८८ थियो।