मधेस प्रदेशमा चालू आर्थिक वर्षको १० महीनामा १८ दशमलव आठ प्रतिशत मात्र खर्च भएको छ ।
मधेस प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेस प्रदेश सरकारको कुल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशत मात्र खर्च भएको जनाएको हो । उक्त अवधिमा चालू खर्चतर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात् रु चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पूँजीगततर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात् रु तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए।
मधेस प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्य अनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए ।
चालू आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालूतर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पूँजीगततर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात् ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार कुल बजेट रहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कुल बजेटको ६१ प्रतिशत मात्र खर्च भएको थियो ।
आर्थिक वर्ष सकिन एक महीना मात्र बाँकी रहेकाले यही अवस्थामा यसपटक ५० प्रतिशतसमेत बजेट कार्यावन्यन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ ।