काठमाडौF, २७ वैशाख/रासस

काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, “बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान शुरू गर्छौं ।” अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ ।

सिआइबीमा बिहीवार बाल सङ्गठनको जग्गा विवादमा संलग्न व्यक्तिहरूविरुद्ध जाहेरी परेको प्रवक्ता बोगटीले बताए । नेपाल बाल सङ्गठनलाई हानिनोक्सानी पु¥याउने उद्देश्यले विसं २०४९ देखि २०७२ सालसम्म पटकपटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बदनियतरूपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ । नक्सालमा रहेको करीब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु एक करोड नौ लाख तिर्ने गरी (पछिल्लो सम्झौता अनुसार) लिजमा दिइएको बताइएको छ । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीवार नेपाल बाल सङ्गठनले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा जाहेरी दिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here