यही चैत ३० गते शुक्रवार बिहान ६ बजेतिर प्रतीक दैनिकका सम्पादक जगदीश शर्माज्यूलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन प्रति कार्यालयमा पुग्दा प्रतीक कार्यालय बन्द देखें । हडबडमा मेरो मोबाइलसमेत मसँग नरहेकोले त्यहाँबाट म धम्म तराई विपश्यना केन्द्र परवानीपुर पुगें । २०५३/ ५४ सालतिर सरकारी खानापूर्ति गरी परवानीपुरमा धम्म तराई खुलेको रहेछ । यस अघि कीर्तिपुर, चितवन, लुम्बिनी, कातेडाँडा, बुढानीलकण्ठलगायत देशका १५ विभिन्न भागमा यस्ता विपश्यना केन्द्रको स्थापना भएको रहेछ । डा रूप ज्योति नेपाल अधिराज्यकै क्षेत्रीय आचार्य रहेछन् ।

वीरगंजको विपश्यना ध्यान केन्द्रमा अध्यक्ष विनय शाह, ट्रष्टीहरूमा भिखमचन्द्र अग्रवाल, गणेश लाठ, सुरेश गाडिया, सुबोध जोशी आदि रहेछन् । परवानीपुरको विपश्यना ध्यान केन्द्रमा ध्यानको प्रयोजन हेतु २० जना महिला र ६० जना पुरुषले ध्यान गर्ने बेग्लाबेग्लै छुट्टाछुट्टै भवन रहेछन् । यहाँ निश्शुल्क ध्यानको व्यवस्था छ । खाना–बस्नसमेत कुनै दस्तुरी पर्दैन । ध्यानलाई आर्य मौन भनिन्छ । यहाँ ध्यान गर्न चिनियाँ, भारतीय र अन्य विदेशीहरूसमेत आउँदा रहेछन् । नेपालीहरू सबैभन्दा बढी आउँछन् । परवानीपुरस्थित यो विपश्यना ध्यान केन्द्रको साढे सात बिघा क्षेत्रफल जग्गा रहेको छ । भित्र शान्त र रूखैरूखको जङ्गल जस्तै वातावरण छ । जहाँ विभिन्नखाले चराचुरुङ्गी आँप, सपाटो, केरा, लिची, अमला, अमिलो आदिका रूख बिरुवा टन्नै रोपिएका छन् । चराहरूको सदाबहार चिरबिर सुनिन्छ । ध्यान गर्नेहरूलाई यहाँ शाकाहारी खाना दिइन्छ ।

वर्षमा दुईपटक तीन दिवसीय, अङ्ग्रेजी महीनाको अन्तिम शनिवार एक दिवसीय, वर्षमा एकपल्ट ४५, ३० र २० दिवसीय विपश्यना ध्यान आयोजना हुन्छ । स्पेशल शिविर १० दिने छुट्टै गरिन्छ । सतिपठान शिविर वर्षमा एकपल्ट गरिन्छ । ध्यानकर्मीहरूले स्वेच्छाले दान दिन सक्छन् तर ध्यानमा नबस्नेहरूको दान स्वीकार गरिंदैन । अर्थात् यहाँ दान दिन ध्यानमा बस्नै पर्छ । यहाँ अङग्र्रेजी तारीख अनुसार अक्सर १० दिने ध्यान शिविर चल्दछ । जसलाई आर्य मौन पनि भनिन्छ । शिविर क्षेत्र शान्त एकान्त छ । पानी, बिजुली, खानाको लागि पाकशाला, गुरुहरू चौबीसै घण्टा तैनाथ देखिन्छन् । १० दिने विपश्यनामा दशौं दिन बिहान १० बजे मौन टुट्ने र भोलिपल्ट शिविरको बसले सबैलाई मकालु होटल अगाडि छाड्ने र जान चाहनेहरूलाई परवानीपुर लग्ने व्यवस्था रहेछ । अशोक कर्ण यहाँका क्षेत्रीय गुरु रहेछन् । १० दिनको ध्यान गर्न यहाँ निकै व्यक्तिहरूले नाम लेखाउँदा रहेछन् । यहाँ १० दिने विपश्यना हरेक अङ्ग्रेजी महीनाको २ तारिख देखि १३ तारिखसम्म आयोजना गरिन्छ । १० दिने ध्यान शिविरमा आउने–फर्कने गर्दा ११ दिन लाग्छ । मान्छेहरूले बिस्तारै विपश्यनाको महŒव बुझ्न थालेका छन् । बजारिया कोलाहलबाट छुटकारा लिंदै १० दिने ध्यान निकै प्रभावकारी देखिन्छ ध्यानमा मोबाइलसमेत बन्देज हुन्छ । विपश्यना ध्यान केन्द्रको फाइदाबारे जानकारी लिन परवानीपुर जान सकिन्छ ।

यो युरोप होइन
कुनै जमानामा कोशी अञ्चलबाट सञ्चालित कन्काई बसको यस्तो विज्ञापन आउँथ्यो– घुम्नुपर्छ ए साइली बैंसको बेलामा, जान्छु भन ए साइली बैंसको बेलामा, जाऊ न हरर कन्काई बसैमा । पञ्चायती व्यवस्था सँगसँगै कन्काई बस पनि हरायो । पर्यटकीय गतिविधि विकास होस् भनेर यही वैशाख १ गतेदेखि राजधानीको ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला हुने भएका छन् । हाम्रो महानगर पनि के कम १ रात्रि बजारको अवधारणा ल्याइहाल्यो । सधैं काठमाडौं महानगर र भरतपुर महानगरझैं आर्थिक सहयोगको याचना गर्ने वीरगंजका मेयरले ठूलो प्रचारप्रसार र तामझामका साथ यही चैत २९, ३० वैशाख १ गते एकपल्ट फेरि रात्रिबजारको असफल जोर अजमाइश गरे । चैत २९ गते म पनि लहलहैमा वीरगंजको रात्रि बजार अवलोकन गर्न पुगें तर त्यहाँ रात्रिबजारको नाममा चना चटपटे, पानीपुरी, मःमः, आइसक्रिम, कोल्ड ड्रिंक्स, पावभाजीबाहेक बजार भन्न सुहाउँदो केही फेला पारिनँ । पुरानो बसपार्कका छोटेमोटे स्टलहरूले समेत दैनिक एक हजारको दरले तीन दिनको तीन हजार भाडा तिर्दा रहेछन् । यो रात्रि मेला नभई रात्रि ठेलाझैं लाग्यो । त्यहाँ खोम्चा, ठेलाबाहेक अर्थोक देखिनँ मैले । हो, नीलो कुर्तामा सजिएर मेयरसाब यताउता गर्दैथिए । जेसुकै भए पनि मैले हात उठाएर अभिवादन गरें ।

वीरगंजमा आजकाल सधैं दिनदहाडै मोटरसाइकल चोरी हुन्छ । असुरक्षित स्थानमा सुरक्ष्Fाकर्मी देखिंदैनन् । बोर्डर क्षेत्र भएकोले उताका अपराधीहरूको आनाजाना भइरहन्छ । पाकेटमार सलबलाइ रहन्छन् । उरन्ठेउला केटाहरूको बिगबिगी, गँजेडी, नसेडीहरू दिउँसै दादागिरी गर्छन्, दिनदहाडै चोरी भइरहन्छ । अब यस्तो अवस्थामा त्यो पनि आदर्शनगरजस्तो संवेदनशील क्षेत्रमा रात्रि बजारको नाममा गुलजार गर्न पाइन्छ ? रात्रि बजारको नाममा गुलछर्रा उडाउन पाइन्छ ? नाम रात्रिबजार तर दिउँसो चार बजेदेखि नै चाट चटपटेवालाहरू पसल चालू गर्छन् । यातायात जाम हुन्छ । यिनले सजिलोको खातिर आप्mनो व्यापारिक ठेला, खोम्चा चौबीसै घण्टा त्यही राख्नाले दिउँसो त्यहाँ सडक साँघुरो हुने, जामको समस्या विकराल भएको छ । अनि हरियाली क्षेत्र भनिने आदर्शनगर पूmटपाथमा रोपिएका हरिया रूखहरू सयकडौं ग्याँस चुलोको ताप र रापले मुर्झाउन थालेका छन् ।

रात्रि मेलाको व्यापार गर्ने निहुँमा सद्दे पिच सडक फोर्ने, प्वाल पार्नाले दुर्घटना निम्तिने देखिन्छ । रात्रिबजार बेकामिल, आवाराहरूको टाइमपास गर्ने माध्यम पनि बनेको छ । रात्रि बजारमा बासी, काँचो चाउमिन र अन्य खानेकुरा बजारभन्दा धेरै महँगो छ । अर्थात् रात्रिकालीन बजारको नाममा लूटको छुट छ । यसलाई व्यापार फस्टाएको भन्ने ? दिउँसोको बजार व्यवस्थित गर्न नसक्नेहरूले रात्रि बजार भनेर गर्व गरेको देख्दा हाँसो उठ्छ । अँधेर नगरी चौपट राजा टका सेर भाजा टका सेर खाजा भनेकै यही हो । घाँटी हेरेर हाड निल्नु भन्ने त उखान नै छ । साँधुरो सडक भएको यो महानगरमा रात्रि व्यापारको नाममा सडक अकुपाइ गरेर दिउँसो होस् कि राति आत्मरतिका लागि मेलाको नाममा जथाभावी गर्ने छुट कसैलाई छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here