• कुमारबन्धु रुपाखेती

पालिकाहरूमा अवकाश पाउने कर्मचारीहरू अहिले रनभुल्लमा पर्न थालेका छन् । उनीहरूको भविष्य अहिले अनिश्चितझैं भएको छ । स्थानीय निकाय सङ्घर्ष समितिका अनुसार कतिपय पालिकाहरूले अवकाश कोषमा रकम छुट्याउनाले अवकाशप्राप्त कर्मचारीहरू रित्तो हात घर फर्किन विवश छन् । स्थानीय ऐनले अवकाश कोषमा रकम छुट्याउने अधिकार दिए पनि अधिकांश पालिकाले अवकाश कोष नै नबनाउने र बनाएकाहरूले समेत विभिन्न बहानामा कोषको रकम चलाइदिने र सट्टाभर्ना नगर्ने प्रवृत्ति देखाएका छन् । जसले गर्दा अवकाशप्राप्त कर्मचारीहरू उपदान रकम, बिदाको रकम, सञ्चय कोषको रकम, दान–उपदानको रकम तथा अवकाश हुँदा पाउनुपर्ने भुक्तानीको लागि ढोका–ढोका चहार्दाचहार्दै हायलकायल भएका देखिन्छन् ।

दशकौं सेवाग्राहीहरूको सेवामा समय बिताउने राष्ट्रसेवक कर्मचारीहरूको यस्तो बिचल्ली पहिले कहिल्यै भएको थिएन । सबैलाई थाहै छ अधिकांश पालिका कागजी घोडा रेसमा चलिरहेका छन् । बेरुजूको चाङ छ, बेथिति, भ्रष्टाचार र मनोमानी व्याप्त छन् । यस्तै बेथिति र लूटखसोटको अचानोमा स्थानीय निकायका अवकाशप्राप्त कर्मचारीहरू पर्दै आएका छन्, जसको अविलम्ब निवारण जरुरी छ ।

भारतमा अहिले आमनिर्वाचनको शोरगुल छ । निर्वाचनका बेला मुलुकमा अमनचयन, शान्ति हुनुको साटो त्यहाँ अहिले भद्रगोल स्थिति छ । जताततै लुटखसोट र हडतालको वातावरण छ । हाम्रै सीमा क्षेत्र मितेरीपुलसम्म मात्रै पुग्दा यस्ता दृश्य भरपूर देखिन्छन् । सदैव आफूखुशी एकतर्फी निर्णय गर्दै आएका यिनीहरूले मितेरीपुलमा अतिक्रमण गरेको लामै समय भइसक्यो । रक्सौलको भद्रगोल ट्राफिक अवस्था जगजाहेर छ ।

कहिले नेपाली चार पाङ्ग्रे प्रवेश निषेध, कहिले नेपाली अटोरिक्शा रक्सौल प्रवेशमा रोक आदि उर्दी जारी गर्नु यिनको बायाँ हातको खेल भएको छ । भारतका शहरहरूमा अचेल कतै राजनीतिक आमसभा र जुलूसले यातायात जाम छ । कतै किसान आन्दोलन त कतै जातीय दङ्गा भइरहेका देखिन्छन् । हद त त्यस बेला भयो, जब भारत घुम्न आएका विदेशी एक युवा दम्पतीले कल्पनै नगरेको घटना बेहोर्नुप-यो । स्पेनबाट भारत घुम्न आएका एक जोडी पर्यटकलाई अस्ति शुक्रवार राति दुमकाको हंसडिया भन्ने स्थानमा पतिलाई पिटपाट गरी घाइते बनाइ पत्नीलाई सामूहिक बलात्कार गरियो । यो स्पेनिश दम्पती पर्यटकको रूपमा दुमकाबाट नेपाल प्रवेश गर्नुअघि यो घटनालाई अपराधीहरूले अनजाम दिए ।

भारतमा नेतादेखि प्रशासक सबै मनमौजी निर्णयका पर्याय हुन् । अस्ति भारतको बिहारमा इन्टरमिडियटको परीक्षा थियो । यहाँ नेपालमा इन्टरमिडियट भनेको प्लस टु हो । परीक्षामा चार उग्रवादी नेताको बारेमा उत्तर दिन भनिएकामा केहीले उत्तरपुस्तिकामा जवाहरलाल नेहरू र जिन्नालाई उग्रवादी नेता बताए भने केहीले रवीन्द्रनाथ टैगोरलाई उग्रवादी लेखे अनि केहीले बिआर अम्बेडकरलाई त केहीले अब्दुल आजाद कलामलाई र कसैकसैले राजेन्द्र प्रसादलाई उग्रवादी भन्दै जवाफ लेखे । इन्टरमिडियट इतिहासको परीक्षा थियो यो । भारतीय युवाहरूलाई राजनेता र उग्रवादीको इतिहासबारे ज्ञान नै छैन । यस्तो अवस्थामा २१औं सदीमा भारतमा धूमधामले आमनिर्वाचन हुँदैछ । भारतीय टिभी, खबर, समाचारमा एकतमासको पट्यारलाग्दो मोदीको, भाजपाको सुगारटान सुनेर मलाई मात्र होइन अधिकांशलाई अचेल भारतीय टिभी र खबर सुन्न–पढ्न मन लाग्दैन होला ।

रक्सौल प्रशासकहरूको मनमौजी एकतर्फा निर्णयले मितेरीपुलवारि नेपालतर्पm जाम, भद्रगोल र अफरातफरीको माहोल सिर्जना भएको छ । क्या किजिएगा ये भारत मे निर्वाचनका मौसम है जी । भुलाभटका मितेरीपुल पुगेका एकजना चिनियाँले अस्तिदेखि ठूलै केरकारको सामना गर्दैछन् । पाँच दिनअघि मितेरीपुलबाट समातिएका ती चिनियाँ नागरिकलाई सोधपूछका क्रममा अहिले मोतिहारी चलान गरिएको छ । समातिएका चिनियाँ नागरिकले चिनीबाहेक अन्य भाषा नजान्ने र भारतीयहरूसँग चिनियाँ भाषामा कुरा गर्न जान्ने विज्ञसमेत नभएकाले उनी लामै थुनामा पर्ने देखिन्छन् । चिनियाँ नागरिक पक्राउ अहिले त्यहाँका खबर पत्रिकाका लागि चटपटे र विकास समाचार बनेको छ । भारत मे निर्वाचनका माहोल है जी !

नेपाली भान्सामा अचेल चुलेसी, नाङ्लो, खल, पिर्का, सिलौटा आदि भेटिंदैनन् । ढिकी र जाँतो कुनै घरमा पाइँदैनन् । त्यस्तै, भान्सामा अचेल कमै मात्रामा साबुत (नकुटेको) मरीच, जीरा, हर्दी, धनिया, सुकेको खुर्सानी, टिमुर पाइन्छन् । तयारी लुगाझैं अचेल सबै मरमसला कुटेको, प्याकिङ गरेको आकर्षक प्याकेटमा पाइन्छन् । किसानको घरबाहेक अन्यत्र धान र गहुँ पाइँदैन । बोरामा चामल र पीठो नै पाइन्छ । ग्रामीण भेगमा समेत अब ठेकीमा घ्यू, मोही पाइँदैन, बरु फ्रिजमा चीसो पेय पदार्थ पाइन्छ । अचेल त लसुन–अदुवा र गोलभेंडासमेत प्यूरियो पेस्ट बनाएर बेचिरहेको देखिन्छ । मकै, भटमासको सट्टा पिज्जा–बर्गर चलनचल्तीमा छ ।

सिलौटामा जीरा, धनिया, हर्दी आदि पिसेर तरकारीमा हाल्ने जमाना गयो । ल्वाङ, दालचिनी, सुकमेल सबै पिसिएको र तयारी उपलब्ध छन् । अझ बजारमा अचेल रङ्गबिरङ्गी प्याकेटमा चिकेन मसला, ममः मसला, मटन मसला, एगकरी मसला, फिसकरी मसला अन्धाधुन्द प्रचलनमा छन् । माथि उल्लिखित जीरा, धनिया, हर्दी, मरीच, टिम्बुर, दालचिनी, ल्वाङ, सुकुमेल आदि आयुर्वेदिक स्वास्थ्यबर्धक हर्बल मसला हुन् । तर भान्साका यी अमूल्य गहना अचेल बजारिया मिलावटको शिकार भएका छन् र दिनानुदिन बेफुर्सदी हुँदै गएका हामी बजरिया चटपटे उत्पादनको आकर्षणमा परेका छौं । अरू कुरा छाडिदिऊ खूबै नाम कमाएको बाबा रामदेवको पतञ्जलि आयुर्वेदसमेत अहिले नक्कली उत्पादनको विवादमा परेको छ ।

कोभिड–१९ मा रामदेवको आयुर्वेदले कोभिडको औषधि बनाएको दाबी ग-यो, जसलाई भारतीय अदालतले अस्वीकृत ग¥यो । अहिले पनि अदालतले बन्देज गर्दागर्दै चेतावनी दिंदादिंदै पनि रामदेव र बालकृष्णले तथानाम प्रचार गर्दै विभिन्न किसिमका रोगका आयुर्वेदिक औषधि प्रचारमा ल्याएका छन्, जुन पूर्णरूपमा प्रभावहीन भएको कुरा भारतीय अदालतले बताएको छ । पतञ्जलि आयुर्वेद जस्तो रामदेवको प्रख्यात कम्पनी को त यो हाल छ भने अन्य नकलची उत्पादनहरूको अवस्था कस्तो होला ? मानिसहरू अचेल बरु इलेक्ट्रोनिक सामान खरीदमा बढी खर्च गर्छन् । लुगा कपडामा मनग्य खर्च हुन्छ ।

महिलाहरू शृङ्गारपटारका सामग्रीमा अत्यधिक खर्च गर्छन् । अधिकांश महिला एउटा पार्टीमा लगाएको लुगा अर्काे पार्टीमा लगाउँँदैनन् तर एक अनुसन्धानका अनुसार खानपान र भान्साको खर्च कटौती भएको छ रे । कतिपय भान्सामा त अचेल रातिको खाना नै पाक्दैन । तयारी बजरिया खाना खाएर सुत्छन् रे ! दाँत माझ्ने दतिवनको स्थानमा अचेल पेस्ट–ब्रशमा सीमित छ ।

मुलुकमा सङ्घीयता लागू भएपछि प्रदेश बन्यो । मधेस प्रदेशमा त शहीद परिवारलाई ५० लाखसम्म दिने घोषणा भयो । कर्णाली प्रदेशले त उत्कृष्ट किसानलाई सुनको हलो दिनेसम्म घोषणा ग-यो । तर न कसैले ५० लाख पायो, न सुनको हलो । उल्टै बरु शहीद परिवार बेवारिसे बने, बेरोजगार भए । उता किसानले समयमा मल, बीउबिजन पाएन, उब्जनी बिग्रियो । खेत बाँझै राख्न विवश भए । हाम्रा नेताहरूबाट यस्तै रामकहानी सुनाइन्छ र भरमाइन्छ । अचेल त हामी भारतबाट आयात गरिएको दानापानीमा हुर्किरहेका छौं । एक जमाना अर्थात् सन् १९६५ मा भारतमा अनिकाल पर्दा नेपालले करीब ३५० मेट्रिक टन चामल सहयोग पठाएको थियो । पञ्चायतकालमा धान, चामल निर्यात कम्पनी भन्ने सरकारी संस्था नै सक्रिय थियो । एकपटक राजा महेन्द्रको शासनकाललाई नियालौं ।

उनले पाठ्यक्रमबाट हिन्दी भाषाका किताब हटाए, संसद्बाट भारतीय प्रतिनिधि हटाए, नेपाली हुलाक टिकट प्रचलनमा ल्याए, भारतीय सुरक्षा चौकी फिर्ता पठाए, भारतीय रुपियाँ प्रचलनबाट हटाए, भारतबाहेकका मित्रराष्ट्रहरूबाट ठूल्ठूला राजमार्ग बनाए, त्रिभुवन विश्वविद्यालयको स्थापना, विमानस्थलसमेत बनाए । आप्mनो १० वर्षीय शासनकालमा उनले मुलुकको उल्लेखनीय विकास गरे । दर्जनौं कलकारखाना उनकै देन थियो । पहिले नेपाली रुपियाँँलाई मोहरिया (मोरु) रुपियाँ भनिन्थ्यो र २०१५ सालको अन्तदेखि नेपाली रुपियाँँ लेख्न थालेको महेन्द्रकै प्रयास हो । कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा विसं २००२ सालदेखि भएको हो । राजा महेन्द्रकै प्रयासमा नोट प्रचलनहेतु २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएको हो । हाम्रो मोहरिया रुपियाँका बखत ब्रिटिश इन्डियाको कम्पनी रुपैयाँ प्रचलनमा थियो ।

अब वर्तमान अवस्थामा फर्कौं झन्डै साढे तीन दशकअघि २०४७ सालमा प्रजातन्त्र बहाल भयो । उद्योग कलकारखाना धमाधम बन्द हुन थाले । खेतीपातीमा -हास आउन थाल्यो । शिक्षा र रोजगारका लागि युवाशक्ति विदेश पलायन हुने वातावरण बन्यो र पलायन रोक्न प्रजातन्त्र असफल भयो । राजनीतिक आस्थाका आधारमा विभाजन गर्न थालियो । साम्प्रदायिक सद्भाव बिग्रँदै गयो । महँगी, भ्रष्टाचार मौलाउँदै गयो । विदेशीहरू नेपालमा हाबी हुँदै गए । विदेशीकै इशारा र रोजाइमा प्रधानमन्त्री, राष्ट्रपति छान्ने चर्चा चल्यो । सिमाना मिचिन थालियोे र अब त हुँदाहुँदै सार्वभौम राष्ट्र नेपालको अस्तित्व नै खतरामा परेको कुरा विज्ञहरूले उठाउन थालेका छन् । थुप्रै विदेशीलाई नागरिकता दिनाले मुलुकको इतिहास, धर्म–संस्कृति लोप हुने वातावरण बन्यो । रोटीबेटीको नाममा नेपालीलाई सेक्ने काम भयो । प्रतिबन्धित पञ्चायतकालमा विद्यार्थी युनियन बनाउने, विद्यार्थी उचालेर अस्कल काण्ड गराउनेहरू आजकल विद्यालय, कलेज र विश्वविद्यालयलाई राजनीतिक अखाडा बन्न दिनुहुँदैन भनेर फलाक्दै छन् । अरू त अरू अचेल त जनपद र सशस्त्र प्रहरी मात्र होइन नगरप्रहरीसमेतले आम जनताको हुर्मत लिन थालेका छन् । सरेआम कुटपिट गर्दैछन् । निषेधित क्षेत्रको नाममा फूटपाथ प्रयोग गर्न मनाही छ । समग्रमा भन्ने हो भने केही टाठाबाठाबाहेक आम नागरिकका लागि मुलुकको शासन व्यवस्था, निरङ्कुशतन्त्रमा परिणत भएको देखिन्छ । गठबन्धनको नाममा मनलाग्दी भएको छ । नटवरलाल भन्ने एउटा हिन्दी सिनेमामा अमिताभ बच्चनको एउटा राजनीतिक प्रेरित गीत अर्थपूर्ण छ । नटवरलाललाई महान् ठग मानिन्छ । त्यो गीतमा– ‘आ राहा था, नहीं जा रहा था, नहीं आ रहा था’ भनेर त्यस बेलाको भारतीय दल अदलबदललाई व्यङ्ग्य गरिएको हो । अचेल हाम्रोमा पनि यस्तै छ प्रचण्ड, ओली, देउवा भोलि कता आ रहा था, कता जा रहा था भनेर ब्रह्माले समेत भन्न सक्दैनन् ।

बाग्मती सफाइको नाममा हालसम्म नेपाल सरकारले २१ अर्ब खर्च गरेछ तर बाग्मती नदी होइन नाला नै छ । हाम्रोमा जहिले पनि खर्च र कामको तालमेल मिलेको हुँदैन । महाभारतमा ‘पार्थ, घबराओ नहीं’ भन्दै धनुषधारी अर्जुनलाई ढाडस दिन कृष्णको अभाव छ नेपालमा । यहाँ त बेहिसाब गलती गर्ने अनि नन्हा मुन्ना बनाएर मुक्ति दिने चलन छ । हाम्रो कानूनले कुकर्म होइन अनुहार हेर्छ । इन्कलाब जिन्दाबाद एकादेशको कथा बनेको छ । सरकारी उटपट्याङ निर्णय र उर्र्दी सहनु हाम्रो नियति बनेको छ । अहिले त हाम्रो मुलुकको अवस्था ‘टकाशेर भाजा, टकाशेर खाजा’ जस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here