नापतौलको लापरवाही

नेपालमा विद्युतीय तौल मेशीन आएको लगभग तीन दशक बढी भयो । अहिले डिजिटल तौल मेशीनहरू प्रयोगमा छन् । तर मधेस प्रदेशको एकमात्र वीरगंज महानगरपालिका र महानगर रहेको पर्सा जिल्लामा भने अहिलेसम्म परम्परागत ढक–तराजुकै बढी प्रयोग छ । ढक–तराजुको प्रयोग परापूर्वकालदेखि हुँदै आएको हो । ढक–तराजुको प्रयोगकर्ताले गुणस्तर तथा नापतौल कार्यालयबाट प्रमाणित गरेर सञ्चालनमा ल्याएको हुनुपर्छ अन्यथा त्यसको प्रयोग अवैध हुन जान्छ । कार्यालयले तोकेको मापदण्डका ढक–तराजु हुनुपर्छ । अझ सोही कार्यालयले ढक–तराजुको बिक्री वितरण गर्दा सेवाग्राहीलाई सहज हुने र उपभोक्ताहरू पनि ठगिने थिएनन् । पर्साका ग्रामीण बजारमा अहिले प्रयोग हुने ढक–तराजु वैध छैनन् । अहिले चलनचल्तीका ढक–तराजु कार्यालयले प्रमाणित गरेको छैन । अहिले पनि यो जिल्लाको ग्रामीण बजारहरूमा काठे डन्डीवाला तराजु र माटो, पत्थर, इँटाका ढकहरू प्रयोगमा छन् । विद्युतीय, डिजिटल तौल मेशीनहरूहरूले अहिलेसम्म यहाँको हाटबजार हेरेको छैन ।

अहिलेसम्म विद्युतीय, डिजिटल मेशीन महानगरको हाटबजारमा प्रयोगमा आएका छैनन् भने ग्रामीण बजारहरूको कुरै भएन । बजारमा तौल गरेर बिक्री हुने सबै खाले वस्तु गुणस्तर तथा नापतौल कार्यालयबाट प्रमाणित भएका ढक–तराजुबाट तौल हुनुपर्ने कानूनी प्रावधान छ । यसको अनुगमन गर्ने र प्रयोगमा ल्याउने जिम्मेवारी गुणस्तर तथा नापतौल कार्यालयको हो । पर्सा जिल्लामा पनि यो कार्यालय नभएको होइन । तर अहिलेसम्म अनुगमन शून्य भएकोले यसको काम कारबाहीको आकलन लगाउन सकिन्छ । पेट्रोलियम पदार्थ, सुनचाँदी, धर्मकाँटाहरूमा मात्र यो कार्यालयको नजर रहेकाले कर्मचारीहरू खट्छन । तर आम उपभोक्ताहरूको प्रत्यक्ष सरोकार रहने कार्यमा भने उनीहरूको अनुगमन नै छैन । भारतीय ढक–तराजुको प्रयोग बढेको, त्यसबाट व्यापारीले उपभोक्ताहरूलाई ठग्दै गरेका कुराहरू दशक पुरानो भइसक्दा पनि अहिलेसम्म ध्यान पु¥याउने कार्य भएको छैन । कार्यालयको फितलो कामको विरोधमा उपभोक्तासँग सरोकार राख्ने निकाय, संस्थाहरू पनि मूकदर्शक बनेका छन् । यस खाले गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी अहिले स्थानीय पालिकालाई पनि छ । पालिकाका उपप्रमुख बजार अनुगमन समितिका संयोजक हुन् र उनीहरूले यस प्रकारका बेथितिलाई लयमा ल्याउन सक्छन् । तर उनीहरूमा पनि गाउँटोलका व्यापारीविरुद्धको काम गरेर चुनौती लिने सामथ्र्य बनिसकेको छैन ।

लामो समयदेखि चलिरहेको यो कार्यमा परिवर्तन आवश्यक छ । परम्परागत ढक–तराजुमा विविध खाले विकृतिहरू छन । ढक तोकिए अनुसार नहुने, त्यसमा तौल कम गर्न विभिन्न जुक्ति प्रयोग गरिने, तराजुको दुवै तर्फका भागमा एकरूपता नहुने आदि इत्यादि । यसको साथै नयाँ प्रविधिका विद्युतीय र डिजिटल तराजुहरूमा पनि बेलाबखत विकृतिहरू आइरहने गरेका छन् । यसकै लागि गुणस्तर तथा नापतौल कार्यालय स्थापना गरिएको हो । तर उसले तीन दशक लामो समयमा पनि यो क्षेत्रमा सुधार ल्याउन सकेको छैन । जसले गर्दा पर्सा जिल्लाका बजारहरूमा ढुक्क भएर तौल अनुसारको सामान पाउने उपभोक्ताको अधिकार हनन हुँदै आएको छ । कार्यालयले काम गर्न नसकेकोविरुद्ध उपभोक्ता हितमा काम गर्ने संस्थाहरूले पनि आवाज उठाउन सकेका छैनन् । जसले गर्दा पर्सा जिल्लाका उपभोक्ताहरू ठगिने क्रम जारी छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्