• कुमारबन्धु रुपाखेती
गणतन्त्रवादीहरूले नेपालका पुराना शासक (राजा–महाराजा)हरूलाई खस शासक भन्छन् । यिनै खस शासकले विभिन्न पेशामा पारङ्गत विदेशीहरू (भारतीय)लाई नेपाल भिœयाइ सीपमूलक काम गर्न लगाउँथे । व्यापार, उद्योगधन्दाका लागि मारवाडी तथा यातायातका लागि पञ्जाबी (सरदारजी)हरूलाई नेपाल ल्याइएको थियो तर वीर शमशेरको वीरगंज नामकरणअघिदेखि नै वीरगंजमा मारवाडी समुदायका केडिया, लाठ, गोल्छा, रूँगटा, घिरइया, चाचान, खेतान, खण्डेलवाल, तुलस्यान, अग्रवाल, पटवारी, शर्मा, बैद, गोयन्का, धुड्का, सरावगी, काबरा आदि मारवाडी समुदाय यहाँको उद्योग व्यापारमा सक्रिय थिए । मारवाडी समुदाय व्यापारप्रेमी, शान्तिप्रेमी र धर्मकर्ममा आस्था राख्ने जाति हुन् । कुनै बेला वीरगंजको मेनरोड र आदर्शनगर आसपासका क्षेत्रमा बसोबास गर्ने यिनीहरू अचेल विभिन्न वडाहरूमा भेटिन्छन् ।
मारवाडी भनेपछि उद्योगी र व्यापारी भन्ने पहिचान तोड्दै यो समुदाय अहिले विभिन्न पेशामा आबद्ध देखिन्छन् । भनिन्छ, वीरगंजको आदर्शनगरलाई केन्द्र बनाएर विदेशी सामानको पहिलो व्यापार सुरुआत गर्ने श्रेय यहाँको मारवाडी समुदायलाई नै जान्छ । कुनै बखत यहाँको मारवाडी समाजमा पाँच पाण्डवको कोर कमिटी थियो, जसले यो समुदायलाई निर्देशन गथ्र्यो । तिनताका निर्वाचनमा मारवाडी भोट पाउन पाँच पाण्डवको समूहलाई उम्मेदवारहरूले प्रणामपाती गरिरहन्थे । पहिला आफ्नो हित हेर्ने अनि भोट दिने त्यो पुरानो चलन यो समुदायमा अझै हाबी छ । पञ्चायतकालमा वीरगंजको यो समुदाय पूरै राजावादी देखिन्थ्यो तर अहिले अवस्था परिवर्तित छ र मारवाडी समुदायका सदस्यहरू विभिन्न राजनीतिक दलमा आबद्ध देखिन्छन् । पहिले राजनीतिमा अप्रत्यक्ष संलग्न यो समुदाय अचेल प्रत्यक्षरूपमा राजनीतिमा सक्रिय देखिन्छन् ।
राजनीतिक दलहरूको चन्दा असुलीको भरपर्दो केन्द्र पनि हुन्– वीरगंजेली मारवाडी । तर अचेल यो समुदायबाट नै निर्वाचनमा उम्मेदवार बन्ने गरेका छन् । अनिल रूँगटा, विजय सरावगी, ओमप्रकाश शर्माहरू यस्ता उदाहरण हुन् । मारवाडी भनेपछि पैसावाला हो भनी बुझ्ने चलन एकातिर छ भने मारवाडी भनेपछि अझै पनि हेप्ने चलन वीरगंजमैं छ । चलनचल्तीको राजनीतिले अहिले वीरगंजको मारवाडी एकता भाँडिएको र एकतामा अनेकता हाबी देखिन्छ ।
वीरगंजको पुरानो मारवाडी समाजले रङ्गुनबाट पलायन भई आएकालाई रङ्गुनिया मारवाडी भन्ने चलन छ । उच्चस्तरीय मारवाडी उद्योगधन्दामा मुलुकका धनाढ्य नेताहरूको समेत लगानी र साझेदारी छ भन्ने गाइँगुइँ पनि छ । अचेल त झन् दुर्गा प्रसाईं जस्ताहरूले मारवाडी समाजलाई आडे हात लिएका देखिन्छन् । नेपाल र नेता बिगार्ने माडवाडी हुन् रे । वीरगंजको मारवाडी समाज धर्मकर्म गर्न, मठमन्दिर, धर्मशाला निर्माण गर्न, शान्तिपूर्ण जीवनयापन गर्न, जोखिममा परेकालाई उद्धार गर्न निरन्तर सक्रिय देखिन्छन् । नयाँ स्वरूपको गहवामाई मन्दिर निर्माणमा यिनको उल्लेखनीय योगदान छ । मारवाडी समुदाय अपेक्षाकृत शान्त र मिजासिला मानिन्छन् । तर समय अनुसार बदलिन र रङ्ग बदलिनसमेत यिनीहरू सिपालु हुन्छन् । मेरा एक मारवाडी दोस्तले–‘आए हजूर, गए ससुर’ भन्न सिक्नुपर्छ भन्थे ।
२०३७ सालको जनमत सङ्ग्रहमा निर्दलीय पहेंलोलाई जिताउन पर्सामा मारवाडी समाजको अहम् भूमिका थियो तर यही समुदायमा अहिले राजावादी खोज्न टर्च बाल्नुपर्ने अवस्था छ । राणीसती दादी र श्यामबाबाको नाम यिनीहरू श्रद्धाले लिन्छन् । यो समाजले अझैसम्म राजस्थानलाई देश भन्छन्, गइरहन्छन् । मारवाडीहरू शाकाहारी मानिन्छन् । तर नयाँ पुस्ताका मारवाडी युवा सबै चीजका अम्मली छन् । व्यापार, उद्योगधन्धाका लागि नेपाल मारवाडीहरूका लागि वरदान बनेको छ । त्यसो त वीरगंज तथा नेपालकै मारवाडी समाज जमातमा बजारनजीक सुविधासम्पन्न, शान्त क्षेत्रमा बसोबास गर्न चाहन्छन् ।
मारवाडीहरूले ेघर सुरक्षित किल्लाझैं बनाउँछन् । दूरदराज ग्रामीण भेगमा यो समाज नभेटिए पनि अचेल मारवाडीहरू गाउँ, देहात, खेतीपाती, सडकछेउको जमीन जेथा खरीद गर्ने होडबाजीमा छन् । यहाँको मारवाडी समाजमा समाजसेवा राजनीतिपछि केही कोही त गलत धन्दा अर्थात् कालोबजारी आदिमा मुछिन थालेपछि यो समाज उहिलेभन्दा अहिले बदनामसमेत हुन थालेको छ । जसोजसो जजमान उसोउसो स्वाहा गर्न खप्पिस यो समुदायमा केहीको ‘लुट कान्छा लुट’ नीतिले गर्दा ‘मारवाडीके खाता, आ बङ्गालीके माथासे केहु पार ना पाई’ भन्ने उखान नै बनेको छ ।
मारवाडी समाजको दाजुभाइमा सबैको काम गर्ने फाँट बेग्लाबेग्लै हुन्छ । एकासगोलको एक भाइ उद्योग–व्यापार हेर्ने, अर्काेले सरकारी मुलाजीम र कानूनी क्षेत्र हेर्ने अनि एउटाले टोल समाजमा सम्पर्क गर्ने विभाजित कार्यशैली देखिन्छ । यो प्रथा रइस र धनधान्यले पूर्ण मारवाडी परिवारमा अझै प्रचलनमा छ । वीरगंजमा अचेल गरीबभन्दा गरीब मारवाडी परिवार पनि देखिन्छन् । वीरगंजका थुप्रै उद्योगधन्दामा अझै यो समाजको मजबूत पकड कायम छ ।
ऋण लिएर व्यापार गर्ने यो समुदाय अचेल बैंक, होटेल, विद्यालय चलाउनसमेत थालेका छन् । भनिन्छ, मारवाडी समाजको बाक्लो र न्यानो प्रभावले नै वीरगंजको मेनरोड फराकिलो गर्ने कार्यमा अडङ्गा लागेको हो रे । जो जिता वही सिकन्दर थ्योरी मान्ने मारवाडी समुदायको राजनीतिक रूप काङ्ग्रेस, कम्युनिस्ट, मधेसवादी, राजावादी सबैसँग बराबरीको उठबस देख्दा मलाई ‘ये रिश्ता क्या कहलाता है’ भनी प्रश्न गर्न मन लाग्छ । तर जे भएपनि वीरगंजको विकासमा मारवाडी समुदायको ठूलो योगदान छ । जय राणीसती दादी माँ ! जय श्याम, श्याम !