- डा रमेश मिश्र
कार्तिक कृष्णपक्ष त्रयोदशीको दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती हो । आजको दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था, अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र अन्य व्यक्तिको दीर्घायु, सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइन्छ ।
यस वर्ष नेपालमा आयुर्वेद चिकित्सक सङ्घले ‘मानसिक स्वास्थ्य प्रवद्र्धनको लागि आयुर्वेद, योग र ध्यान’ नारासहित मनाइरहेको छ ।
वास्तवमा विश्वभरि नै यसै दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष अधिकांश देशमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ, जुन धन्वन्तरि तेरसको अपभ्रंश हो । यस दिन घरघरमा सरसफाइ गरी नयाँ भाँडा किन्ने चलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवताको उत्पत्तिबारे विभिन्न मत छन् । आयुर्वेदका प्रथम प्रचारक र प्रसारक आदिदेव भगवान् धन्वन्तरि निर्विवाद यसको प्रवर्तकका रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यहरूमा दृष्टिपात गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्वप्रथम उल्लेख वैदिककालमा समुद्रमन्थनको बेला अमृतकलश धारण गरेको देवताको रूपमा प्राप्त हुन्छ । हातमा अमृतकलश धारण गरेको कारण उनलाई पियुषपाणि धन्वन्तरि पनि भनिन्छ । यसको अतिरिक्त प्राचीन ग्रन्थहरूबाट प्राप्त विवरणहरूको अनुसार काशीराजाहरूको वंश परम्परामा राजा दीर्घ तपा अथवा राजा धन्वका पुत्रको रूपमा पनि धन्वन्तरि प्रसिद्ध छन् ।
भागवत्, हरिवंश एवं ब्रह्माण्ड तथा विभिन्न पुराणमा वर्णन गरिएका कथा र प्राचीन ग्रन्थहरूमा चर्चित चिकित्सा विशेषज्ञहरूमा उनको उल्लेख छ । धन्वन्तरि काशीराज, दिवोदास, अश्विनीकुमार, नकुल र सहदेव यी चिकित्सा विशेषज्ञमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरूका अनुसार काशीराज धन्वले पुत्रप्राप्तिको लागि दीर्घकालसम्म तप गरे र उनलाई दीर्घतपा भनियो । आफ्नो दीर्घकालको तपस्याको परिणामस्वरूप दीर्घतपाले समस्त रोग नाश गर्ने देव धन्वन्तरिलाई पुत्ररूपमा प्राप्त गरी दीर्घतपाको पुत्र धन्वन्तरि आयुर्वेदका प्रवर्तक, यज्ञ भागका अधिकारी एवं विष्णुको अवतार कहलिए । उनलाई अनिमा, महिमासहित आठवटै सिद्धि प्राप्त थियो तथा उनको स्मरण मात्रले रोगहरूको नाश हुन्थ्यो । दिवोदास धन्वन्तरि भीमरथका पुत्र र महाराज दशरथका समकालीन थिए । उनका पुत्र वेदर्षि प्रवर्दनको नामोल्लेख मर्यादा पुरुषोत्तम श्रीरामको राज्याभिषेकको बेला उपस्थित राजाहरूमा काशीराज प्रतद्र्धनको रूपमा पनि पाइन्छ । प्रतद्र्धनका पिता दिवोदासलाई आदि धन्वन्तरिको अवतार पनि मानिन्छ । दिवोदासले नै विश्वामित्र पुत्र सुश्रुतसहित आठ शिष्यलाई उपदेश दिंदै भनेका थिए– म नै आदिदेव धन्वन्तरि हुँ र समुद्रमन्थनको बेला आविर्भूत धन्वन्तरि पनि मैं हुँ । देवासुर सङ्ग्रामको कारण भूमण्डलमा आयुर्वेदको प्रचारप्रचार हुन नसक्दा नै मैले फेरि अवतरित हुनुपर्यो । महर्षि सुश्रुतले आफ्नो ग्रन्थ सुश्रुतसंहितामा यस तथ्यलाई अभिव्यञ्जित गर्दै लेखेका छन्–
अयं हि धन्वन्तरिरादिदेवो
जन्मजरा मृत्युहरो मराणाम् ।
शल्यांगमंगे परेरूपेतः प्राप्तो
हिमगां भूय इहोपदिपटुम ।।
अर्थात् देवहरूको जन्म, जरा र मृत्युको नाश गरी अमरत्व प्रदान गर्ने म नै आदिदेव धन्वन्तरि हुँ । म अन्य अरू (सात)बाट युक्त तथा शल्यतन्त्र प्रधान आयुर्वेदको उपदेश दिनको लागि पुनः यस पृथ्वीमा आएको छु । विभिन्न ग्रन्थ पुराणहरू तथा संहिताबाट प्राप्त विवरण अनुसार यो सिद्ध हुन्छ कि समुद्रमन्थनको बेला भगवान् धन्वन्तरिको आविर्भाव भगवान् विष्णुको अंशको रूपमा भएको थियो तथा उनी हातमा श्वेतकलश धारण गरेर अवतरित भएका थिए ।
आग्नेय पुराणमा समुद्रमन्थनमा अवतरित भगवान् धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तकका रूपमा उल्लेख गरिएको छ । ‘मिलिन्द प्रश्न’ नामक एउटा पालि ग्रन्थमा दोस्रो शताब्दी ईसा पूर्वमा मिलिन्दप्रति नागसेनको उक्तिमा चिकित्सकानां पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएका आचार्यहरूमा धन्वन्तरिको नाम उल्लेख छ । उक्त मिलिन्द प्रश्नमा रोगोत्पत्ति, निदान, स्वभाव, समुत्थान तथा चिकित्सा आदिमा आचार्यरूपमा चर्चा भएका नागसेनले आफूभन्दा पूर्व आचार्य धन्वन्तरिको उल्लेख गर्नाले धन्वन्तरिको सार्वभौतिकता सिद्ध हुन्छ । चिकित्सा विज्ञानका जनक र आयुर्वेदका प्रवर्तकको रूपमा धन्वन्तरिले औषधि विज्ञानलाई स्पष्ट र नवीन दिशा प्रदान गरे ।
आयुर्वेद एउटा सम्पूर्ण चिकित्सा पद्धति हो । यसमा स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र कुनै कारणले रोग लाग्यो भने रोग उपचारको सम्पूर्ण व्यवस्था गरिएको छ । स्वस्थ व्यक्तिको स्वास्थ्य रक्ष्Fाको लागि दिनचर्या, रात्रिचर्या, ऋतुचर्याको सम्पूर्ण व्यवस्था गरिएको छ । जस अनुसार आहार, बिहार, योग, प्राणायाम गरियो भने शारीरिक र मानसिक रोग लाग्दैन र स्वास्थ्यको प्रवद्र्धन हुन्छ ।
कुनै कारणले रोग लाग्यो भने उसको सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ । रोग अनुसार शरीर शोधन गरिन्छ जसलाई पञ्चकर्म भनिन्छ । तत्पश्चात् रोग अनुसार औषधि सेवन, योग, प्राणायाम गराइन्छ । औषधिहरुमा जान्तव, खनिज, वनस्पतिबाट बनेका औषधिहरु सेवन गराइन्छ । आजको समयमा आयुर्वेद औषधिको गुणस्तरबारे धेरै चर्चा–परिचर्चा भइरहेको छ र जनताले जान्नुपर्ने पनि ठीक हो ।
आयुर्वेद चिकित्सा पद्धति हो र यसमा प्रयोग हुने औषधि अन्य औषधिसरह नै हुन्छ । आयुर्वेदमा वर्णन गरिएका शास्त्रीय विधिहरु जुन हाम्रF ऋषिमुनिहरुले अनुसन्धान गरी नै बनाएका थिए । सोही परम्परा अनुसार आज पनि आयुर्वेदमा औषधि निर्माणको प्रक्रिया प्रचलित छ । जान्तव द्रव्य र वनस्पति द्रव्यको शोधनको साथसाथै खनिज द्रव्यहरुको शोधन मारण गरी रस, भष्म निर्माणको प्रक्रिया हुन्छ जसले गर्दा आयुर्वेदिक औषधि शुद्ध तयार हुन्छन् र रोगीको प्रकृति दोष अनुसार कुशल चिकित्सक, कविराज, वैद्यको सल्लाह अनुसार सेवन गर्दा पाश्र्व प्रभाव हुँदैन र कुनै विषाक्तता पनि हुँदैन । तर आयुर्वेदको नाममा जथाभावी अशास्त्रीय विधिले तयार पारी सेवन गरिएका कुराहरुको बारेमा भन्न सकिंदैन । किनकि आजको युगमा चामल, दाल, पीठो प्याकिङ गरेर बजारमा सफा ठाउँमा बिक्री हुन्छ ती वस्तुहरु हामी घरमा लगेर राम्ररी सफा गरेर पकाएर सेवन गर्छौ तर अहिले बजारमा आयुर्वेदको नाममा जथाभावी कुराहरु बिक्री भइरहेकोले यसप्रति सचेत हुन जरुरी छ । अतः आयुर्वेद औषधि सेवन गर्दा स्तरीय आयुर्वेदिक औषधि, उत्पादक कम्पनीहरुको गुणस्तरीय औषधि सेवन गर्नुपर्दछ । जसको प्रयोगले व्यक्ति स्वस्थ रहन्छ र कुनै नराम्रो असर हुँदैन ।
अन्त्यमा श्री धन्वन्तरि भगवानले हामी सबैलाई दीर्घायु, स्वस्थ राखून् भन्ने कामना गर्दछु ।
–कन्सलटेन्ट आयुर्वेद विज्ञ, स्वास्थ्य निर्देशनालय, मधेस प्रदेश