प्रस, वीरगंज, ६ भदौ/
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बुधवार वीरगंजमा अन्तरसरकार समन्वय सुदृढीकरणसम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले सङ्घीयता कार्यान्वयनमा सहकार्य, सहअस्तित्व र समन्वय जरुरी रहेको तर सङ्घ र प्रदेश सरकार यसमा चुकेको आरोप लगाए । उनले आपसी समन्वयमा चुनौती देखिएको र यसलाई सरलीकृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको सुझाए ।
सङ्घ र प्रदेशका योजना कार्यान्वयन गर्दा स्थानीय तहसँग कुनै प्रकारको समन्वय नहुने गरेको भन्दै नगरप्रमुख सिंहले असन्तुष्टि व्यक्त गरे ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करको अध्यक्षतामा सम्पन्न बैठकमा मधेस प्रदेशका सचिव रामकृष्ण पुडासैनी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, मधेस प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, पर्सा, बारा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित तीनै तहका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।