प्रस, वीरगंज, ६ भदौ/
नेपालमा लामो दूरीको बस यात्रा जोखिमपूर्ण बन्दै गएको यात्रुहरूले गुनासा गरेका छन् ।
यात्रुहरूको चाहना तथा आन्तरिक होडबाजीका कारण यात्रुवाहक बस निर्माणको क्रममा गरिएका परिवर्तनका कारण यात्रा जोखिमपूर्ण बन्दै गएको ट्राफिक प्रहरीहरू पनि स्वीकार्छन् । अहिलका बसहरूमा सुरक्षाका कुनै उपाय उपलब्ध रहेका कारण यात्रा जोखिमपूर्ण भएको ट्राफिक प्रहरीको भनाइ छ । यात्रीका माग अनुसार बसहरू आधुनिकीकरण हुँदै गएका र अहिले यही आधुनिकीकरण जोखिमपूर्ण भएको यात्रीहरूको भनाइ छ ।
अहिले अधिकांश यात्रुवाहक बस पूर्ण वातानुकूलित छन् । वातानुकूलित बसहरूका झ्यालहरू सिल गरिएका हुन्छन् । त्यसमा आपत्कालीन ढोकाहरू हुँदैनन्, जसले गर्दा दुर्घटनाको समयमा यात्रीहरू बाहिरिन समस्या हुने गरेको र यसैबाट बढी क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । बसलाई आधुनिकीकरण गरेसँगै सुरक्षाका उपायहरू भने अवलम्बन नगर्दा दुर्घटनाको बखत बढी क्षति हुने गरेको प्रहरी बताउँछन् । पहिलेका बसमा अगाडि, पछाडि ढोका अनि आपत्कालीन ढोका गरी तीनवटा ढोका हुन्थे । चालकका लागि भने छुट्टै ढोका हुन्थ्यो । तर अहिले चालकका लागि एउटा र यात्रुहरूका लागि एउटा मात्र गरी दुईवटा ढोका मात्र हुन्छन् । मुख्य तीनवटा ढोका हुँदा दुर्घटनाको बखत यात्रीहरू जोगिने सम्भावना बढी थियो तर अहिले त्यस्तो अवस्था छैन । यसका साथै यात्रुवाहक बसमा ठूला टिभी अनि विभिन्न किसिमका बत्तीहरूका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
नेपालमा सडक क्षमताभन्दा बढी लामा तथा हेभी आधुनिकीकरण गरिएका बसहरू सञ्चालनमा छन् । यात्रा गर्दा आरामदायी बनाइएका यस्ता बसहरू भने दुर्घटनाग्रस्त हुँदा अत्यधिक जोखिमपूर्ण हुने गरेको स्वयम् चालकहरू पनि स्वीकार्छन् । बुधवार एकाबिहानै पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा भएको बस दुर्घटनामा आठजनाको ज्यान गएको छ । १३ जनालाई थप उपचारको लागि काठमाडौं ट्रमा सेन्टरमा पठाएको जिल्ला प्रहरी कार्यालय, धादिड्ढा प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले बताए । काठमाडौंबाट म्याग्दी जिल्लाको बेनी जाँदै गरेको धवलागिरि यातायातको प्रदेश ३.०१.००५ ख ९९५२ नम्बरको बस त्रिशूली नदीमा खस्दा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेको यो बस अत्याधुनिक वातानुकूलित भएको प्रनाउ जयसवाल बताउँछन् । खोलामा खसेको बसमा सुरक्षा उपकरण तथा त्यसका उपाय नभएकाले बढी क्षति भएको र आठजनाले ज्यान गुमाउनुपरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । बस नदीमा खस्दा एउटा मात्र मुख्य ढोका नखुलेको, झ्याल फोड्न नसकिएको, अन्य सङ्कटकालीन ढोका नभएकाले यात्रीहरूको पानीमा निसासिएर ज्यान गएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । एकजना प्रत्यक्षदर्शीले सङ्कटकालीन ढोका नभएको र झ्याल फोड्न नसकिएको अवस्थामा यात्रीहरू कराउँदै गर्दा बस नदीमा गएको आफ्नो आँखाले देखेको बताए । नदीमा खसेको सो बस बाहिर निकालिए पनि बसको मुख्य ढोका खोल्न निकै गा¥हो भएको थियो । दुर्घटना भएपछि चालक पनि घाइते भएका र स्वचालित ढोका खोल्न नसक्दा थप क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।