प्रस, महोत्तरी, ६ भदौ/
उद्योग वाणिज्य सङ्घ जलेश्वरको आह्वानमा बुधवार जलेश्वर बजार बन्द रह्यो ।

मिटरब्याज पीडितहरूले हिजो दिउँसो निकालेको विरोध जुलुसमा सहभागीहरूले व्यवसायीहरूलाई सडकमैं दुव्र्यवहार गरी कुटपिट गरेको विरोधमा आज निजी विद्यालय, पसल, बजार बन्द गरेर व्यापारीहरू आन्दोलनमा उत्रेका थिए ।

मिटरब्याज पीडितले एकजना स्थानीय व्यवसायीलाई कुटपिट गरेको र अर्का एकजना व्यवसायीलाई सुरक्षा कारणले प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मिटरब्याज पीडितहरूले सरकारले ल्याएको ऐनमा संशोधनको माग गर्दै हिजो जलेश्वरमा प्रदर्शन गर्नुुका साथै पाँच बुँदे माग उल्लिखित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा बुझाएका थिए ।

मिटरब्याज पीडितहरूले प्रदर्शन गरेको बेला आन्दोलनकारीले व्यवसायीलाई कुटपिट गरेको भन्दै व्यापारीहरू प्रतिकार उत्रेका हुन् ।

मिटरब्याज पीडितको नाममा अराजक गतिविधि गर्नेहरूलाई कारबाही नभएसम्म बजार बन्द यथावत् राख्ने उद्योग वाणिज्य सङ्घ जलेश्वरका अध्यक्ष लभराजा सिंहले बताए ।

जलेश्वर बजार बन्दका कारण आज सर्वसाधारणको जनजीवन कष्टकर बन्यो । व्यवसायीहरूले चोकचोकमा नाराबाजी गरेर दोषीलाई कारबाहीको माग गरेका थिए । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले अप्रिय घटना हुन नदिन सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मी परिचालन गरेको थियो । मिटरब्याज पीडितहरूले भने आफूहरूको आन्दोलन बिथोल्न झूटा आरोप लगाइएको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here