प्रस, वीरगंज, १ असार/
कालिकामाई गाउँपालिका–५ बिरञ्चीबर्वा निवासी बलिराम तिवारी भन्ने पप्पुलाई इलाका प्रहरी कार्यालय, पोखरियाले पक्राउ गरेको छ।
जेठ २३ गते आँपको बगैंचामा विवाद हुँदा तिवारीले चलाएको एयरगनको छर्रा लागेर नौ वर्षीय बालक श्यामसुन्दर महतो सामान्य घाइते भएका थिए। महतोका परिवारले कारबाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय, पर्सामा तिवारीविरुद्ध ज्यान मार्ने उद्योगको उजूरी दिएका थिए। प्रहरी नायब उपरीक्षक दीपक गिरीले पक्राउ परेका तिवारीविरुद्ध ज्यान मार्ने उद्योगको उजूरी आएको तर दर्ता नभएको बताए। स्थानीयले एयरगनको छर्रा लागेर बालक घाइते भएको बताएका छन् तर खानतलाशीको क्रममा उनको घरबाट भरुवा बन्दुक भेटिएको प्रनाउ गिरीले बताए। पक्राउ परेका तिवारीमाथि अनुसन्धान भइरहेको र कानून अनुसार कारबाई हुने उनले बताए।