सर्लाही, ५ असार/रासस
जिल्लाका किसानले धान रोपाइँ शुरू भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् ।
बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने कि नलगाउने भन्ने दोधारमा परेको हरिवनका किसान रामपुकार महतोले गुनासो गरे । जिल्लामा अहिले रासायनिक मलको हाहाकार छ । सरकारले हाम्रा माग सुन्दैन तर हामीलाई मलको आवश्यकता छ, उनले भने ।
धान रोपाइँको बेला भइसके पनि रासायनिक मल हामीले कहिले पाउने हो भन्ने आसमा बस्नुपरेकोे अर्का किसान कपिल साहले बताए । “हामी किसानले वर्षैपिच्छे मल अभाव झेल्नुपरे पनि अहिलेसम्म सरकारका जिम्मेवार पदमा रहेकाहरूले दीर्घकालीन समाधान नखोज्ने गरेका कारण हामी किसान कृषिप्रधान देशमा रहेर पनि मारमा परेका छौं ।” उनले भने, “सरकार फेरियो, मानिस फेरिए, मन्त्री फेरिए तर मलको कथा जहिले पनि उस्तै रह्यो । हरेक वर्ष मल अभावको समस्या हामीले झेलिरहेकै छौं ।”
“सरकारले मल खरीदका लागि ठूलो बजेट छुट्याएको खबर सुनिन्छ, मल नै मागेजति आएन भनेको पनि सुनिन्छ, किसानलाई मल दिन्छौं भनेर दायित्व लिएर माथि पुगेका नेताले किसानलाई बिर्सेपछि फेरि किसानकै कुरा उठाउँदा अप्ठ्यारो लाग्नुपर्ने हो,” अर्का किसान हनुमान साहले बताए, “मलसमेत दिन नसक्ने सरकार रहे नरहेको हाम्रालागि बराबर हो ।”
समयमा मल नदिने सरकारलाई भारतबाट किसानले मल किनेर ल्याउँदा सुरक्षाकर्मी लगाएर नखोस्न र बल प्रयोग नगर्न पनि स्थानीय किसानको माग छ । नेता, मन्त्री र जिम्मेवार अधिकारीको वक्तव्य आउँछ तर मल आउँदैन । रोएका किसानको फोटो आउँछ, किसान लाइनमा बस्छन् तर मल आउँदैन, मल नपाउँदा र समयमैं बालीनाली लगाउन नपाउँदा फल लाग्दैन, हामी के खाएर बाँच्ने सरकार अर्का किसान रामविनोद यादवले भने ।
जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करीब ७२ हजार मेट्रिक टन मल आवश्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानबालीका लागि कम्तीमा ४४ हजार मेट्रिकटन मल चाहिने उक्त कार्यालयले जनाएको छ तर धान रोपाइँकै समयमा जिल्लामा मल अभाव छ । नेपालमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशनको हो । साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनीले ७० प्रतिशत मल ल्याउने गरे पनि जिल्लामा आवश्यक मात्रामा मल अभाव पुरानै व्यथा रहेको उक्त केन्द्रका प्रमुख कमलदेव प्रसाद कुशवाहाले बताए ।
“नेताहरूले सधैं कृषिलाई औद्योगिकीकरणतिर लैजाने बताउँछन् तर किसान मल र सिंचाइको समस्यामा अल्झिन बाध्य छन्,” उनले भने । आगामी आर्थिक वर्षमा कृषि उत्पादन ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको सरकारले किसानलाई मलको व्यवस्था गर्न नसकेकामा प्रतिनिधिसभा सदस्य डिल्ली उप्रेतीले असन्तुष्टि जनाइन् ।
सांसद उप्रेतीले भनिन्, “खेती शुरू भइसक्यो तर किसानले अहिलेसम्म मल पाएका छैनन् । मलका गोदाम खाली छन्, केन्द्र सरकार के गर्दै छ ?” सरकारको प्राथमिकतामा कृषि छ कि छैन भन्ने कुरा किसानले मल नपाएबाटै स्पष्ट भएको प्रदेशसभा सदस्य बेची लुगेलीले बताए । “सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको जिकिर गर्दै मल खरीदका लागि आगामी आर्थिक वर्ष रु १५ अर्ब विनियोजन गरेको छ तर उक्त रकम चालू वर्षको भन्दा झन्डै आधा कम भएकोले किसानले आवश्यक मात्रामा मल नपाउने निश्चित छ,” उनले भने । किसानलाई मल दिन नसकेको भन्दै सांसदहरूले समेत सरकारको आलोचना गरेका छन् ।
मल आपूर्तिको व्यवस्था नमिलाएको र धान रोप्ने बेलामा गोदाम रित्तै भएको भन्दै सांसदले समेत आपत्ति जनाएका छन् । मल खरीदमा ठूलो रकम चलखेल हुने भएकाले समयमैं र मागे जति मल किसानले नपाउने गरेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले बताए । “मल आउँछ तर सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ । जबसम्म माल आउँदैन, तबसम्म मल आउनेवाला छैन,” उनले भने ।
चालू आर्थिक वर्षको हालसम्म करीब डेढ लाख टन मल खरीद भएको सरकारले बताएको भएपनि सबैभन्दा धेरै मल आवश्यक पर्ने समयमैं गोदाम रित्तै छ ।
मल खरीद गर्न सरकारले ग्लोबल टेन्डर गर्ने गर्छ । यसपटक अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेकाले टेन्डरबाट खरीद नगरिएको जनाइएको छ । कृषि सचिव गोविन्द शर्मा र भारतका तर्फबाट रासायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीबीच जिटुजी प्रक्रियामार्फत भारतबाट पाँच वर्षसम्म मल ल्याउन गत फागुनमा समझदारीपत्रमा हस्ताक्षर भएको पनि बताइएको थियो ।