धनुषा, ८ जेठ/रासस
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिकामध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुर्ईवटाको मतगणना जारी छ ।
तीमध्ये १० मा नेपाली काङ्ग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन् ।
जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि सोही दलकी फूलकुमारी यादव विजयी भएका छन् ।
औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा सोही दलकी पूनम साह निर्वाचित भएका छन् । धनौजी गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल विजयी भएका छन् । त्यस्तै, जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपिन देव निर्वाचित भएका छन् भने उपाध्यक्षमा काङ्ग्रेसकी कमला सहगल निर्वाचित भएका छन् ।
विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उम्मेदवार बेचन दास तत्मा निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि सोही दलकी आशा झा निर्वाचित भएकी छन् । धनुषाधाम नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा काङ्ग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएका छन् ।
कमला नगरपालिकाको नगरप्रमुखमा काङ्ग्रेसका उम्मेदवार विशेश्वर यादव र उपप्रमुखमा काङ्ग्रेसकै शिलादेवी मण्डल निर्वाचित भएका छन् । शहीदनगर नगरपालिकामा भने नगरप्रमुखमा जसपाका उम्मेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा काङ्ग्रेसकी सुनीताकुमारी सिंह विजयी भएका छन् ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उम्मेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएका छन् । बटेश्वर गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार रामआशिष महतो र उपाध्यक्षमा सोही दलकी फूलकुमारी सिंह निर्वाचित भएका छन् ।
मिथिला नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेकी सुनीता सिंह बुढाथोकी निर्वाचित भएका छन् । त्यस्तै, नगराइन नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका उम्मेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेकी राधादेवी यादव विजयी भएका छन् ।
गणेशमान चारनाथ नगरपालिकाको प्रमुखमा जीतनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डेय निर्वाचित भएका छन् । त्यस्तै, सबैला नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव र उपप्रमुखमा रहिमा खातुन निर्वाचित भएका छन् ।
हंसपुर नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका उम्मेदवार प्रदीप यादव र उपप्रमुखमा काङ्ग्रेसकै दुर्गा देवी निर्वाचित भएका छन् । त्यस्तै, मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भएका छन् ।
धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा एमाले र जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज साहले निरन्तर अग्रता कायम राखेका छन् ।