- कुमार रुपाखेती
मधेस आन्दोलनको राप र तापबाट जन्मिएकी महिला नेत्री हुन् रम्भा मिश्र । केही समयअघिसम्म उनी लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिइन् । स्थानीय तहको निर्वाचन नजीकिंदै जाँदा लोसपामा उनी झन्झन् सक्रिय थिइन् । यही चैत महीनाको आधाआधीतिर कुम्हालटोल वडा नं ५ मा आयोजित लोसपाको उम्मेदवारी घोषणासभामा नगरप्रमुखमा पुरुषोत्तमलाल झा र उपप्रमुखमा रम्भा मिश्रको नाम घोषणा हुँदा ठूलै ताली गडकिएको थियो । तर जालझेलपूर्ण राजनीति अन्तर्गत लोसपाले एमालेसँग गठबन्धन भयो भन्दै रम्भा मिश्रको उपप्रमुख पदको उम्मेदवारी खोसेर पुरुषोत्तमलाल झालाई दिएपछि आहत रम्भाले उपप्रमुख पदमा गुलाबको फूल चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएको सबैलाई थाहै छ । रम्भामाथिको अन्याय र विमाले (एमाले)हरूले अधिसङ्ख्यक वडामा गैरएमालेहरू वडाध्यक्षमा खडा गरेपछि वीरगंज महानगरको प्रमुख पदमा सत्ता गठबन्धनलाई सजिलो भएको देखिन्छ । नवएमालेहरूले एमालेमा रजाइ मात्र गरेका छैनन् अपितु लोसपाबाट एकाएक एमालेमा परिवर्तन भएका बहुरुपियाँहरूले शकुनि पासाको चाल नै उल्टा पारिदिएका छन् । यस्ता चर्तिकलाले गर्दा पर्सामा एमाले र लोसपाको अवस्था ‘आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ साबित भएको छ ।
‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बुबाको अनुहार’ पारामा एमाले र लोसपा स्थानीय निर्वाचनको मैदानमा देखिन्छन् । सङ्क्षेपमा भन्ने हो भने आधा पराजित अवस्थामा छन् ।
महिला सशक्तीकरण र महिला उत्थानको कुरा गर्ने एमाले र महिला जागरण चलाउने, मधेसी महिलालाई घुम्टोबाट बाहिर निकाल्न अभियान चलाउने लोसपाको असली चरित्र रम्भा मिश्रको घटनाले उदाङ्गो भएको छ । एमाले र लोसपाको गठबन्धनलाई एमाले र रम्भा मिश्रकै समर्थकहरूले लोप्पा खुवाउने देखिन्छ । यस्तै षड्यन्त्रको आभास पाएर रम्भा मिश्रले विभिन्न राजनीतिक दलका जुझारु महिलाहरूलाई जम्मा गरेर वीरगंजको घण्टाघरमा भन्डाफोर कार्यक्रमसमेत गरेकी थिइन् । तर अपसोच विमालेहरूको अचानोमा उनी नै परिन् । तर पनि थुप्रै महिलाले उनको स्वतन्त्र उम्मेदवारीलाई ‘हिम्मतवाली’ भनेर सराहना गरेको देख्दा मलाई त कता नगरप्रमुख पदमा एमाले, अनि विद्रोही रम्भा मिश्रको कदमले विमालेलाई बेफाइदा पुग्ने देखिन्छ । अन्यत्रझैं वीरगंजमा समेत विद्रोही र हिम्मतवालीको स्वागत छ ।