महोत्तरी, २७ चैत/रासस

पात र हाँगासमेत नदेखिने गरी आँपका रूखमा मुजुरा (मञ्जरी, फूल)ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपालि आँपमा राम्रो मुजुरा लाग्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग परेका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुशी मधुवा (आँपको मुजुरामा लाग्ने रोग)का कारण धेरै दिन टिकेन । आफ्नो बगैंचाका आँपका रूखमा पात नै नदेखिने गरी लागेको पहेंलपुर मुजुरा मधुवाले डढाएर सखाप पारेकाले उनको खुशी हराएको हो ।

महतोजस्तै सोही बस्तीका वासु बराल, गुणराज दाहाल, सतीश पाण्डे, अरुण गिरी, हरिदेव साह, सत्यनारायण यादव र भजन महतो पनि आँपको मुजुरामा मधुवाले भुसुक्कै पारेकाले पिरोलिएका छन् । “फूल फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौं,” फलफूल किसान हरिदेव साहले भने, “राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मुजुरा नै डढ्यो ।” मधुवाको प्रकोपले व्यावसायिकरूपमैं फलफूलखेती गर्ने यहाँका किसान निराश भएका छन् । फलफूलखेतीलाई नै गुजाराको मुख्य पेशा बनाएका किसानमा रोगको प्रकोपले चिन्ता बढाएको
हो ।

 “खै केही वर्ष पहिले त फलफूलखेती हेर्ने जेटिएबाबु (कृषि सहायक, कृषि प्राविधिक) आएर यस्तो गर्नाेस् भनेर परामर्श दिन्थे,” बर्दिबास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान विनोद महतोले भने, “अचेल त केही वर्षयता कोही पनि सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन ।” समय–समयमा कृषि परामर्श नपाउँदा पनि आफूहरू पछि परेको फलफूल किसानको गुनासो थियो । जिल्लाको बर्दिबास, गौशाला, भङ्गाहा र जलेश्वर नगरपालिका क्षेत्र एवं पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिकरूपमैं आँप बगैंचा लगाइएको छ । सबैजसो क्षेत्रमा मधुवाले मुजुरा डढाएर कालो बनाएपछि लागेका  केही टिकोला पनि चाउरिएर नबढेको पीडित किसानले बताए ।

 “यसपालि आँपबाट आम्दानी लिने आस म¥यो,” मधुवाले डढाएर कालो बनाएको मुजुरातिर देखाउँदै पशुपतिनगरकै अर्का फलफूल किसान सुरजसिंह कुशवाहाले भने । उनकोे दुर्ई बिघा जमीनमा आँप बगैंचामा २० प्रतिशत रूखमा मात्र चिचिला रहेको कुशवाहाको भनाइ थियो ।

आँपमा चिचिला लाग्ने समय चैत पहिलो सातामैं मुजुरामा मधुवा लागेर कालो बनाएको छ । चैत शुरू भएसँगै मधुवाले आँपका मुजुरा डढाएर कालो बनाएको गौशाला–८ बेलगाछीका किसान लालदेव महतोले बताए । आफ्नो बारीका ६० वटा आँपका रूखमध्ये आधाभन्दा बढी रूखको मुजुरा मधुवाले डढाएको उनको गुनासो थियो । “मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन,” महतोले आफ्नो आँप बगैंचामैं पुगेका सञ्चारकर्मीसँग भने, “तर सघन उपचार बढाइएपछि थप रूखमा भने मधुवा लागेको छैन ।”

यसपालि जिल्लाका सबैजसो भेगमा आँपमा राम्रो मुजुरा लागे पनि सबैतिर मधुवाको प्रकोप पनि फैलिएको छ । “पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो,” जलेश्वर–५ चौडियाका किसान रहिमन मण्डलले भने, “त्यसपछि एकपछि अर्काे उपचार चलाइए पनि पूर्ण नियन्त्रण हुन सकेन ।”

आँपमा मधुुवाले गाँजेपछि यसपालि आँपको उत्पादन घट्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन् । “आँप प्रचुर फल्दा सस्तो हुने र गरीबले पनि आफ्नो आयस्ता अनुसार खान पाउँथे,” बर्दिबास–१ का होटल व्यवसायी दीपेन्द्र पराजुलीले भने, “यसपालि भने मधुवाले मुजुरा नै डढाएपछि उत्पादन कम हुने हुँदा गरीब उपभोक्ताले आँप खान पाउनेछैनन् ।” यता फलफूलविज्ञले भने मुजुरा लाग्नासाथै उपचार नगरिंदा मधुवाको प्रकोप बढेको बताए । समयमैं उपचार नगरिंदा मधुवाको प्रकोप बढेको भङ्गाहा–६ संग्रामपुर निवासी पूर्वकृषिविज्ञ  राजकिशोर यादवको भनाइ थियो । लगातार सघन उपचार गरिंदै लगिए रूखका टिकोला अडाउन सकिने उनको सुझाव
थियो ।   

यसैगरी, आँपमा फूल लाग्न थालेकै बेला उपचार नगर्दा मधुवा लागेको अर्का फलफूलविज्ञ ज्ञानेन्द्र सिंह कुशवाहाको भनाइ थियो । आँपको रूखको जरा वरपर खनेर सिंचाइ गर्नाका साथै फेदमा चुन दल्नेजस्ता प्राकृतिक उपचारले मधुवा रोक्न सकिने उनको सुझाव थियो । मधुवा लागिसकेपछि भने मुजुरा बचाउन विषादीको प्रयोग गर्नुपर्नेमा कुशवाहाले जोड दिए ।

लगातार फूलमा पानी छर्किएसँगै जरामा पर्याप्त सिंचाइ गरिए मधुवा नलाग्ने र फूलमा दाना राम्रो लाग्ने फलफूलविज्ञको सुझाव थियो । यसपालि हिउँदमा राम्रो पानी नपरेको र किसानले आँपको जरा वरिपरि खनेर कीरा मार्ने उपचार नगर्दा मधुवाले पिरोलेको कृषि सेवाकै अवकाशप्राप्त सहसचिव भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलको भनाइ थियो । जिल्लामा १० हजार हेक्टर जग्गामा व्यावसायिकरूपमैं आँपखेती रहेको स्थानीय तहको तथ्याङ्कले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here