• शीतल महतो

कोभिड–१९ को महामारीले सिर्जना गरेको आर्थिक तथा स्वास्थ्य सङ्कटले नेपाली अर्थतन्त्रका सूचकाङ्कहरूलाई निराशाजनक बनाएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन तथा निषेधाज्ञा र महामारीका कारण अर्थतन्त्रमा आएको मन्दीको फलस्वरूप स्वाभाविकरूपमा युवाले रोजगार गुमाउनुपर्ने बाध्यता देखिएको छ ।

आगामी दिनमा खस्किंदो अर्थतन्त्रले सिर्जना गरेको युवा बेरोजगारी ज्वलन्त समस्याका रूपमा देखिने निश्चित छ। हाम्रोजस्तो मुलुकको उन्नतिको आधार नै उपलब्ध स्रोत साधन एवं जनशक्तिको उच्चतम उपयोग हो । तर कोभिडले शिथिल पारेको अर्थतन्त्रलाई चलायमान गराउनु र व्यापक रोजगार सिर्जना गर्नु नेपालको लागि ठूलो चुनौतीका रूपमा देखा परेको छ ।

युवाको जोश, जाँगर र नयाँ विचारलाई उत्पादनमूलक आर्थिक क्रियाकलापमा लगाउँदा अर्थतन्त्र समुन्नतितर्फ लम्किन्छ । यिनको सम्मान, इज्जत, निर्देशन र प्रयोगबाट परिचालन गरी उत्पादनमा लगाउन आवश्यक छ । उनीहरूमा अथाह साहस छ, जोश, जाँगर, क्षमता छ, जुन नेपालका सन्दर्भमा दिनानुदिन खेर गइरहेको छ । उनीहरू भोलिका कर्णधार मात्र होइनन्, आजका आर्थिक–सामाजिक परिचालक पनि हुन् । त्यसैले युवाको ऊर्जालाई मुलुकको अर्थतन्त्रको सुधारका लागि लगाउनुपर्ने अहिलेको खाँचो छ ।

सदियौंदेखि भारत नेपालीको रोजगारको लागि प्रमुख गन्तव्य मुलुक मानिन्छ । नेपालमा उद्योगधन्दाको विकास खासै नहुनु, गाउँले जीवनयापनमा दुई छाक खानकै लागि सङ्घर्ष गर्नुपर्ने भएकाले शैक्षिक क्रियाकलापमा सहभागी हुन नसक्ने मध्यम वर्ग तथा निम्न वर्गका व्यक्तिहरू रोजीरोटीकै लागि मजदूरको रूपमा भारतमा जाने गर्दथे भने अहिले नेपालका राजनीतिक दलका नेताहरू पनि प्रायः भारतमैं रोजगार गरेका तथा शिक्षा लिएका र कुनै न कुनै रूपमा भारतसँग जोडिएका पाइन्छन् ।

समयक्रमसँगै नेपालले विभिन्न देशसँग कूटनीतिक सम्बन्ध अगाडि बढाउँदै रोजगारको लागि श्रम स्वीकृति लिंदै आएको पाइन्छ । त्यस क्रममा भारतपछिको रोजगारको लागि अत्यधिक गन्तव्यका मुलुकहरू साउदी अरेबिया, मलेसिया, कतार, दुबईजस्ता देशहरूमा अर्धदक्ष कामदारहरूको सङ्ख्या उल्लेखनीयरूपमा रहेको छ । विश्वका प्रजातान्त्रिक मुलुकहरूले उदारीकरणको नीति लिए सँगसँगै श्रमबजारमा नेपालीको पहुँच बढ्दै गयो ।

नेपालमा शिक्षा क्षेत्रको विकास भए तापनि विश्वका विकसित राष्ट्रहरूका विद्यालय तथा विश्वविद्यालयहरूको जस्तो गुणस्तर कायम हुन सकेन । विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई राज्यले प्रयोग गर्न सकेन । वैज्ञानिक शिक्षा नीति अङ्गीकार गरेर कुन क्षेत्रमा कति जनशक्तिको आवश्यकता छ भन्ने कुराको हिसाबकिताबको केही लेखाजोखा भएन ।

यसको फलस्वरूप विश्वविद्यालयबाट उत्पादित जनशक्ति जापान, अमेरिका, क्यानडा जस्ता देशहरूमा जान थाले, जसलाई बौद्धिक पलायन भन्ने गरिन्छ । उच्च शैक्षिकस्तर हुनेहरू रोजगार तथा थप अध्ययनका लागि विकसित देशहरूमा गइरहेका छन् भने निम्न शैक्षिकस्तर हुनेहरू खाडी मुलुकमा थोरै पैसामा श्रम बेच्नका लागि म्यानपावरमा लर्को लागिरहेका छन् । उच्च शिक्षा प्राप्त गर्दा पनि नेपालमा सीमित व्यक्तिलाई मात्र अवसर प्राप्त हुने भएपछि विदेशी विश्वविद्यालयको नै डिग्री किन नलिने भन्ने मानसिकताको विकास भएको पाइन्छ । १२ कक्षा पास गरेपछि विद्यार्थी भिसामा विदेशिने विद्यार्थीको लर्को लाग्यो ।

फलस्वरूप विद्यालय तह उत्तीर्ण गरेका १० प्रतिशत विद्यार्थी मात्र स्नातकोत्तर अध्ययन गर्नका लागि नेपालका विश्वविद्यालयहरूमा जाने गरेको तथ्याङ्क सार्वजनिक भइरहेका छन् । फलस्वरूप उच्च शैक्षिकस्तर हुनेहरू रोजगार तथा थप अध्ययनको लागि विकसित देशहरूमा गइरहेका छन् भने निम्न शैक्षिकस्तर हुनेहरू खाडी मुलुकमा थोरै पैसामा श्रम बेच्नका लागि म्यानपावरमा लर्को लागिरहेका छन् । पछिल्लो समय दक्षिण कोरिया जानेहरूले शैक्षिक योग्यतालाई मापदण्ड नबनाएकाले भाषा परीक्षा उत्तीर्ण हुनेहरू छन्, जसको छुट्टै मूल्याङ्कन हुन जरूरी छ । यसरी हेर्दा विकसित भनिएका देशहरूमा दक्ष श्रमिक जानेभन्दा विद्यार्थी भिसामा अध्ययनको लागि गई अध्ययन सकेर दक्ष श्रमिकको रूपमा काम गरिरहेका पाइन्छन् ।

यसरी विश्वव्यापीकरणसँगै सिङ्गो विश्व नै एउटा गाउँ भएको छ । सञ्चार एवं प्रविधिको क्षेत्रमा आएको छलाङ्ग सँगसँगै वैदेशिक रोजगारमा रहेका नेपालीका सामु पनि अवसर र चुनौती एकसाथ रहेका छन् । विदेशमा रहँदा विकसित मुलुकले गरेको विकास पछाडिका रहस्यहरू बुझ्ने सबैभन्दा ठूलो अवसर प्राप्त भएको छ । विकासका लागि शासन व्यवस्था, सरकारका अङ्गहरूले प्रदान गर्ने सेवासुविधा, सार्वजनिक प्रशासनको चुस्तदुरूस्त सेवा प्रवाह, सुशासन अझ भनौं समयको महŒव र अनुशासन महŒवपूर्ण पक्ष हुन् । सही व्यक्ति सही समयमा सही ठाउँमा भएन भने देशको भविष्य अन्धकार हुन्छ । त्यसरी नै अनुशासन मानवजगत्को गहना हो, भाग्यमाथिको अन्धविश्वास अनुशासन होइन ।

अर्को महŒवपूर्ण अवसर भनेको वैदेशिक रोजगारमा रहँदा सिकेका सीप नेपालको हावापानी अनुसार केही परिमार्जनसहित प्रयोगको अवसर पनि हो । अहिले केही युवाले रगत र पसिना नेपालमा नै बगाउनुपर्छ, सुन फल्छ भन्दै विभिन्न उद्यमशीलतामा लागेर सबैलाई हौसला प्रदान गरेका छन् । आजका विकसित मानिएका राष्ट्रहरू त्यसै विकसित भएका होइनन्, त्यहाँका कम्तीमा एक/दुई पुस्ताले अधिक श्रम गरेर सम्भव भएको हो । त्यो सोचको विकास गरेर हामीले विकासको नेतृत्व गर्न सक्छौं कि सक्दैनौं, चुनौतीको विषय रहेको छ ।

समय र अनुशासनको पालना गर्दै श्रमको सम्मान गर्न सक्छांै कि सक्दैनौं, बोली र व्यवहारमा एकरूपता ल्याउन सक्छौं कि सक्दैनौं, आफूले प्राप्त गरेका अधिकारलाई जिम्मेवारपूर्वक कर्तव्यमा ढाल्न सक्छौं कि सक्दैनौं, विदेशी भूमिमा भएर पनि नेपालमैं जसरी हल्ला गर्ने, उद्दण्डता देखाउने, नियम–कानून मिचेकोमा गर्व गर्ने गर्छौं कि सभ्य नागरिक भएर बाँच्न सिक्छौं ।

राज्यले उत्पादनलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापनमा सहयोग गर्नै पर्ने देखिन्छ । पूँजी नभएर देश विकसित नभएको होइन, जसको उदाहरण अहिलेको शेयर बजार हेरे पुग्छ । त्यसैले आम जनतामा भएको पूँजीको उचित व्यवस्थापन गरी उत्पादनमुखी क्षेत्रमा लगानी गर्दै देशमा नै रोजगारका अवसर सिर्जना गर्नुपर्दछ । विप्रेषणमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्दै लैजानुपर्दछ । जसले गर्दा विदेशी हस्तक्षेप न्यूनीकरण भई परनिर्भरताको अन्त्य हुँदै आत्मसम्मानको प्रत्याभूति हुने गर्दछ । आफ्नो राष्ट्रमा नै पसिना बगाउने अवसर प्राप्त भयो भने खाडीमा रहेको बालुवाको खानीलाई त हराभरा बनाउन सक्ने नेपालीले नेपाललाई साँच्चिकै स्वर्ग बनाउन सक्छन् भन्ने प्रत्याभूतिको विकास गर्न सकिन्छ ।

अन्त्यमा, २० देखि ४० वर्ष उमेरका ३० लाखभन्दा बढी नेपाली विदेशमा छन्, जसमा थोरै नेपाली मात्र उच्च पदमा छन् । विप्रेषण विभिन्न रूपमा विदेशमा नै फर्किएको अवस्था छ । यस परिवेशमा राज्यसँग विदेशिएका नागरिकको अपेक्षा भनेको राजनीतिक स्थिरता र सुशासन, शान्ति र सुरक्षाको प्रत्याभूति, न्यूनतम आवश्यकता पूर्तिको प्रत्याभूति, भ्रष्टाचारको अन्त्य र सुनिश्चितता जस्ता महŒवपूर्ण कुराहरू रहेका छन् ।

यति गर्न सकियो भने थोरै समयमा पनि विकासको फड्को मार्न सकिन्छ । जुन देशमा युवा परिचालन हुँदैनन्, त्यो देशमा आर्थिक विकास सम्भव छैन । आज जति युवाहरूको ऊर्जा शक्ति खेर गइरहेको छ, ती सबै विकासोन्मुख र अतिकम विकसित मुलुकहरूमा नै छ । युवाशक्तिहरूलाई परिचालन गरी स्वस्थ र समृद्ध समाज निर्माण गर्ने सरकारसँग योजना हुनुपर्छ । युवाशक्तिलाई परिचालन गरी आर्थिक क्रियाकलापमा उपयोग गर्दा अर्थतन्त्र सबल बन्दै जान्छ । यसबाट दिगो आर्थिक विकासतर्फ अर्थतन्त्र लम्किन्छ । आवश्यकताअनुरूपको योग्यता, क्षमता र सीपले प्रश्रय पाउँछ । नीति निर्माण तहमा आवश्यक जनशक्ति पु¥याउँछ । देशका स्रोतसाधनमा अधिकार जमाउन हैन, अवसर सिर्जना गर्न राजनीति गर्ने हो भन्ने चेतनाको विकास हुन्छ ।

गरीबी र पछौटेपन हटाउन सक्षम युवाशक्तिलाई नीतिगत ढङ्गबाटै परिचालन गर्न आवश्यक छ । युवाशक्तिको बेवास्ताले ऊर्जाशील जीवन खेर गइरहेको छ । युवाशक्तिलाई आर्थिक क्षेत्रमा सक्रिय राख्न, आर्थिक उत्पादन सिर्जना गर्न युवा ऊर्जा निर्धारक सूचकाङ्क तय गर्नुपर्छ । यसले युवाहरूमा उत्साह, कर्तव्य र जिम्मेवारी बढाउँछ । सेवाभाव सिर्जना गर्छ । संस्कार, संस्कृति, आदर सम्मानको बोध गराइ सामाजिक परिपक्वता प्रदान गर्छ ।

युवाशक्तिलाई परिचालन गर्न तथा उनीहरूलाई सक्रिय ऊर्जाशील बनाउन सर्वप्रथम राज्यले उनीहरूको शिक्षामा ध्यान दिनुपर्छ । समयसापेक्ष जीवनोपयोगी व्यावहारिक शिक्षा युवा केन्द्रित हुनुपर्छ । त्यसैले उनीहरूमा रोजगार र आवश्यक अवसर प्रदान गरी योग्यता र क्षमताको कदर गर्ने प्रणालीको विकास गर्नुपर्छ । अनिमात्र मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here