राधेश्याम पटेल, वीरगंज, २१ असोज/
ज्योति परिवार अन्तर्गतको दिव्यज्योति समूह अन्तर्गतको भाजुरत्न एग्रो प्रालिले भारतीय ब्रान्डको एभेन्जर ट्याक्टर बिक्री शुरू गरेको छ । डेढ महीनादेखि ट्याक्टर बिक्री गर्न थालेको यस कम्पनीले हालसम्म ५० वटाभन्दा बढी ट्याक्टर बिक्री गरिसकेको छ भने ३५ वटा ट्याक्टरको बुकिङ भइसकेको कम्पनीका कन्ट्री म्यानेजर ताराबहादुर थापाले जानकारी दिए ।
वीरगंजमा आयोजित ‘प्रडक्ट नलेज’ कार्यक्रममा देशका पाँच बिक्री केन्द्रका प्रतिनिधिमाझ कम्पनीको बजार रणनीतिबारे छलफल भएको थियो भने पछिल्लो कारोबारको अवस्थाबारे जानकारी गराइएको थियो ।
कृषि कर्म तथा ढुवानीको लागि ट्याक्टर सबैभन्दा सहज र सुलभ गाडी मानिन्छ । त्यसै कारण आक्रामक बजार विस्तारको लक्ष्य लिएको कम्पनीले काठमाडौंमा मुख्य कार्यालय स्थापना गरी वीरगंज, पोखरा, बुटवल र विराटनगर गरी पाँच ठाउँबाट ट्याक्टर बिक्री केन्द्र खोलेको जनाएको छ । २०७५ सालमा कम्पनी दर्ता गरी ट्याक्टर बिक्री गर्ने योजना बनाइए पनि पछिल्लो दुई वर्ष कोरोना महामारीको कारण बिक्री प्रभावित भएको थियो । कम्पनीले २६ एचपीदेखि ७५ एचपीसम्मको विभिन्न ब्रान्डमा ट्याक्टर भिœयाएर बिक्री शुरू गरेको विराटनगरका क्षेत्रीय प्रमुख प्रदीप दहालले बताए ।
दशैं, तिहार र छठ पर्वको अवसरमा गाडीको क्षमता अनुसार अढाई लाखदेखि तीन लाख रूपैयाँसम्म छुटको स्कीम राखिएको जानकारी गराए । २६ एचपीदेखि ५० एचपीसम्म तराईमा जोताइ तथा ढुवानीको लागि बिक्री हुँदैछ भने ५५ एचपीदेखि ७५ एचपीसम्मको ट्याक्टर पहाडमा जोताइ तथा ढुवानीको लागि उपयुक्त मानिएको छ ।
ट्याक्टरको मरम्मत खर्च न्यून लाग्ने, कम तेल खाएर बढी लोड र गाडी छिटो गुड्ने भएकोले अन्य ट्याक्टरको प्रतिस्पर्धी कम्पनीसँग यो कम्पनीले सहजै प्रतिस्पर्धा गर्न सक्ने कम्पनीको विश्वास छ ।