–सञ्चिता घिमिरे

काठमाडौं, ८ भदौ/रासस

इञ्जिनीयरिङ कलेजहरूले अनलाइन कक्षा सञ्चालन भएको बेला पनि खेलकूदलगायत अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्योलमा परेको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजका विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन्। परीक्षाभन्दा पहिले सबै शुल्क तिर्नुपर्ने भए पनि विद्यार्थीले सहभागी नभएको क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको विरोध गरेका छन्। कलेजमा धर्ना गरिरहेका विद्यार्थीले यी माग सम्बोधन नहुँदासम्म परीक्षा सञ्चालन गर्न नहुने बताउँदै आएका छन्। स्नातक तहको सबै वर्षको परीक्षा अर्काे महीनाको पहिलो साता गर्ने तयारी रहेको छ।

चालू आवमा पनि गत वर्ष भौतिक कक्षा हुँदा जसरी नै शुल्क लिन खोजिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन

(अनेरास्ववियु) का सचिवालय सदस्य इन्द्र पौडेलले बताए। उनका अनुसार कलेजमा कोभिडका कारण अतिरिक्त क्रियाकलाप नभए पनि त्यसको शुल्क लिइरहेका छन्। कलेजले औसतमा एक सेमेस्टरको एक लाखसम्म लिने गरेको उनले बताए। उनले भने–“कुनै एउटा शीर्षकको शुल्कमा छुटभन्दा पनि समग्रमा नै विद्यार्थीलाई राहत हुनेगरी छुट हुनुपर्छ।”

कोभिडका कारण अभिभावकको आम्दानी कम भएकोले पनि विद्यार्थीसँग बढी शुल्क लिन नहुने पौडेलले बताए। विद्यार्थीसँग बढी शुल्क लिए पनि पढाइ अनलाइन भएकोले कुनै पनि प्रयोगात्मक कक्षा भएको छैन। इन्जिनीयरिङ विषय भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीले केही सिक्न नसक्ने पौडेलले बताए। उनले भने–“अहिले इन्जिनीयरिड्ढा विद्यार्थी अरू सङ्कायमा पढेजस्तो भएको छ।”

शुल्क विवाद चाँडो समाधान नभए स्नातक तहका सबै वर्षको परीक्षामा असर गर्ने नेपाल विद्यार्थी सङ्घका नेता भुवन भट्टले बताए। कुनै पनि प्रयोगात्मक नहुँदा एकातिर विद्यार्थीले सिक्न सकेका छैनन् भने कलेजले  प्रयोगात्मक क्रियालापहरूको शुल्क लिइरहेका छन्। कलेजले आधा शुल्क घटाउनुपर्ने उनले बताए। उनले भने–“अनलाइन कक्षा हुँदा कलेजको पनि लगानी कम भएकोले विद्यार्थीसँग पनि कम शुल्क लिनुपर्छ।”

शुल्क छुट गर्नुपर्ने माग गर्दै विद्यार्थीले कुनै कलेजमा धर्ना गरिरहेका छन् भने कतै तालाबन्दी गरेका छन्। कुनै कलेजमा सबै विद्यार्थी सङ्गठनले संयुक्तरूपमा त, कतै फरक–फरक सङ्गठनले फरक कार्यक्रम गरिरहेका छन्। विद्यार्थी आआफ्नो कलेज र संस्थानको कार्यालयमा आन्दोलन गरिरहेका छन्।

विद्यार्थी केही साता पहिलेदेखि आन्दोलन गरिरहँदा पटकपटक इन्जिनीयरिङ अध्ययन संस्थानलाई समन्वयका लागि अनुरोध गरिरहेका छन्। विद्यार्थीले संस्थानले समन्वयमा चासो नदिएको आरोप लगाएका छन् भने संस्थानले कलेजसँग वार्ता भइरहेकोले समाधान निस्कने अपेक्षा गरेको जनाएको छ। संस्थानले फारम भर्ने मिति आजसम्मका लागि तोकेको छ। विद्यार्थीले ११ गतेसम्म अतिरिक्त शुल्क तिरेर फारम भर्न पाउने छन्।

संस्थानले निजी कलेजलाई शुल्क घटाउन भनेको र कलेज पनि त्यसमा सहमत भएको संस्थानका डीन शशीधरराम जोशीले बताए। कलेजले चाँडो विवाद समाधान गरेर समयमा नै परीक्षा हुने वातावरण बनाउनुपर्ने उनले बताए। उनले भने–“केही विद्यार्थीको आन्दोलनका कारण १९ हजारलाई असर पुग्न दिनुहुँदैन।”

त्रिभुवन विश्वविद्यालयका पाँच आङ्गिक कलेजमा शुल्क समस्या नभए पनि निजी कलेज खुलेदेखि नै शुल्कमा समस्या देखिन थालेको हो। विसं २०५० मा विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिन थालेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही वर्ष पहिले ती कलेजहरूले अधिकतम कतिसम्म शुल्क लिन पाउँछन् भनी मापदण्ड बनाएको थियो।

सरकारले निर्धारण गरेको मापदण्डभन्दा बढी शुल्क लिंदाबाहेक संस्थानले हस्तक्षेप गर्न नमिल्ने डीन जोशीले बताए। उनले भने–“शिक्षा मन्त्रालयले तोकेको आधारमा शुल्क लिंदा हामीले केही गर्न मिल्दैन।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here