सार्वजनिक जग्गा व्यक्तिबाट महानगरको नाममा आउँदै

प्रस, वीरगंज, २० फागुन/
वीरगंज महानगरपालिकाको नाममा थप पौने चार बिघा सार्वजनिक जग्गा आएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको आदेशबाट थप पौने चार बिघा जग्गा महानगरको नाममा आएको छ ।

वीरगंज महानगरपालिका–३१ बेल्वामा रहेको तीन विघा १५ कट्ठा सार्वजनिक जग्गालाई अदालतले व्यक्तिविशेषको भोग नरहनेगरी निर्णय गरेको र सो जग्गा महानगरपालिकाले आफ्नो अधीनमा ल्याएको नगरप्रमुख राजेशमान सिंहको सचिवालय सल्लाहकार हरि पोखरेलले बताए ।

उनले स्थानीय अब्दुल रहमानले सो सार्वजनिक जग्गा अतिक्रमण गर्दै आएकामा कलामुद्दीन अन्सारीले उच्च अदालतमा रिट दायर गरेका र सो रिटमा अदालतले गत पुस २८ गते अन्तरिम आदेश जारी गर्दै सार्वजनिक जग्गामा व्यक्तिविशेषको हकभोग हटाउन आदेश गरेको उनले बताए । अदालतको सो आदेशपछि महानगरले अहिले उक्त जग्गा आफ्नो अधीनमा लिनेगरी कार्य शुरू गरिसकेको छ ।

यस अघि उच्च अदालतको गत पुस ५ गतेको आदेशमा सोही स्थानमा रहेको दुई बिघा जग्गा महानगरले आफ्नो अधीनमा ल्याइसकेको छ । स्थानीय हसमुद्दीन अन्सारीले सोही ठाउँका कलामुद्दीन, जैनुद्दीन र बसरुद्दीन अन्सारीले दुई बिघा सार्वजनिक जग्गा कब्जा गरेको भन्दै उनीहरूविरुद्ध उच्च अदालतमा रिट दिएका थिए । अदालतले व्यक्तिविशेषको कब्जामा रहेको सो दुई बिघा जग्गा सार्वजनिक कायम गर्न आदेश दिएपछि महानगरको प्रFविधिक टोलीले नापजाँच गरी उक्त जग्गामा किलाखुट्टी गाँडेर महानगरको अधीनमा ल्याएको छ ।

पछिल्लो समयमा अदालतको आदेशमा महानगरलाई सार्वजनिक जग्गाहरू आफ्नो अधीनमा ल्याउने क्रम बढेको देखिन्छ । सर्वाेच्च अदालतको आदेशमा भूमिसुधार तथा मालपोत कार्यालय पर्साले वीरगंज महानगरपालिका–४ स्थित अर्बाैं मूल्यको करीब डेढ बिघा जग्गा सरकारको नाममा गरेपछि सो जग्गा पनि महानगरको अधीनमा आएको थियो । अहिले उक्त जग्गामा महानगरले थोक तथा खुद्रा तरकारी बजार बनाउँदैछ । यसैगरी, बिपी उद्यानमा रहेको करीब दुई बिघा जग्गामा व्यक्तिविशेषले आफ्नो हकदाबी गर्दै आएकामा सो हकदाबीलाई पनि सर्वाेच्चले बदर गरिदिएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्