भारतीय बोइलर कुखुराको अवैध पैठारी जारी

सुग्रीव साह, भिस्वा, २० फागुन/
भिस्वालगायत भारतीय सीमासँग जोडिएका स्थानहरूमा अहिले पनि भारतबाटै बोइलर कुखुरा र अन्डाहरू ल्याउने क्रम रोकिएको छैन ।
भिस्वामा अहिलेसम्म निर्बाधरूपमा भारतको सिकटाबाट बोइलर कुुखुरा र अन्डाहरू ल्याएर स्थानीयले बिक्री गर्छन् । सिकटामा भारु ११० मा प्रतिकिलो जिउँदो बोइलर कुखुरा बिक्री हुन्छ । त्यहींबाट साइकल, मोटरसाइकलमा स्थानीय व्यापारीले अन्डा र कुखुरा ल्याउँछन् र बिक्री गर्छन् । भिस्वामा बोइलर कुखुरा नेरु २१० प्रतिकिलोमा बिक्री भइरहेको छ । जिउँदो बोइलर कुखुरा ल्याएर त्यसलाई काटेर मासु बिक्री गर्दा फाइदा हुने हुँदा यहाँ व्यापारीहरूले खुला सीमाको फाइदा उठाउँदै आएका छन् । भिस्वासमेत बुडगाई, धोरे, सबैठवा, भलवहिया, जानकीटोला, अलौं र वीरगंजमा पनि छिमेकी भारतबाट बोइलर कुुखुरा र अन्डाहरू ल्याएर बिक्री हुने गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतमा बर्डफ्लूको सङ्क्रमण देखिएको भन्दै सीमानाकामा भारतीय कुखुरा, अन्डा, चल्ला पैठारी रोक्न निर्देशन दिएका र यसका लागि अनुगमन टोली बनाएका थिए । तर यहाँका सुरक्षाकर्मी र सरोकारवाला निकायले यसबारेमा चासो देखाएको पाइएको छैन ।

खुलेआम भारतबाट कुखुरा, अन्डाहरू भिœयाउने र नेपालको फार्मबाट खरीद गरेको रसिद देखाएर व्यापारीहरूले उन्मुक्ति पाउँदै आएका छन् । थोरै परिमाणमा नेपाली फार्मबाट कुखुरा खरीद गर्ने र त्यही रसिदलाई एक/दुई दिनसम्म देखाउने गरेको र यसमा सुरक्षाकर्मीहरूले पनि खासै चासो देखाउने नगरेको पाइएको छ । भारतबाट अहिले राति र एकाबिहानै बोइलर कुखुराको अवैध पैठारी जारी छ ।

मोटरसाइकल, साइकलमा ल्याएर नेपालका फार्मको रसिद काटेर बोइलर कुुखुराको अवैध तस्करी भइरहेको छ । बजार अनुगमन टोलीले पर्साको ग्रामीण क्षेत्रमा दिउँसो अनुगमन गर्दा खुला व्यापारीहरूलाई मात्र कारबाई गर्न सक्छ । त्यहीं राति र बिहान निगरानी बढाउने हो भने मात्र ठूला व्यापारीहरू कर्तुत बाहिर आउन सक्छ ।

वीरगंज महानगरपालिकाका विभिन्न वडा र सीमाबाहेकका ग्रामीण क्षेत्रमा बोइलर कुखुरा प्रतिकिलो अहिले रु ३०० पुगेको छ तर सीमावर्ती क्षेत्रमा भने रु २१० मा बिक्री हुनुले पनि बोइलर कुखुराको अवैध पैठारी भइरहेको पुष्टि गर्छ ।

नेपाली कुखुरा फार्मबाट बोइलर कुुखुरा खरीद गरेर बजारमा बिक्री गर्दा किलोमा पाँच/दश रुपैयाँको मात्र फरक पर्न जान्छ तर अहिले किलोमा ९० रुपैयाँको फरकले बोइलर कुखुराको अवैध पैठारीलाई पुष्टि गरेको छ । भारतमा बोइलर कुखुरा सस्तो भएकोले अहिले वैवाहिक कार्यक्रममा मानिसहरूले त्यहींबाट ठूलो परिमाणमा बोइलर कुखुरा ल्याएको देखिन्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्