नरेश यादव, पर्सागढी, २० फागुन/
‘स्वास्थ्यको लागि खेलकूद राष्ट्रको लागि खेलकूद’ नाराका साथ दोस्रो पर्सागढी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङ्गलवार सम्पन्न भएको छ ।
तीन दिनसम्म जारी खेलमा आज पर्सागढी नगरपालिका वडा नं ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बर्वाछटौली प्रथम भएको छ भने दोस्रो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बडेर्वा र तेस्रो पर्सा रेन्बो माध्यमिक विद्यालय बडनिहार भएका थिए ।
कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले तीन दिनसम्म सञ्चालित प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा सबैप्रति आभार व्यक्त गरे ।
समापन कार्यक्रममा नगरप्रमुख पाठकले शान्तिपूर्ण तरीकाले प्रतियोगिता सम्पन्न भएकामा सबैप्रति आभार प्रकट गरे । नगरप्रमुख पाठकले खेलकूद प्रतियोगिताले विद्यार्थीहरूलाई अनुशासनको पनि पाठ सिकाउने बताए ।
नगरप्रमुख पाठकले खेलकूदको अवसर स्थानीय तहबाटै शुरू हुने भएकाले नगरपालिकाले नगर अन्तर्गतका खेलमैदानको स्तरोन्नति तथा खेलाडीहरूलाई राम्रो अवसर सधैं उपलब्ध गराउँदै आएको बताए ।
प्रतियोगितामा पर्सागढी नगरपालिका अन्तर्गतका १२ वटा सामुदायिक विद्यालय सहभागी थिए ।
पर्सागढी नगरपालिकाको आर्थिक सहयोग र जनता माध्यमिक विद्यालय, पकडिया बडनिहारको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा उपप्रमुख पूजा चौधरी, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, प्रअ चेतमन चौधरी, मोहनप्रसाद चौधरी, राजीवदास थारू, रामनारायण पटवारी, शिक्षकशिक्षिका, विद्यार्थीलगायतको सहभागिता थियो ।
जनता माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य डिल्लीराम आचार्यले तथा सहजीकरण अमित चौधरीले गरेका थिए ।
गत वर्ष भएको राष्ट्रपति रनिङ शिल्डमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बर्वाछटौली प्रथम भएको थियो । यो विद्यालय वीरेन्द्र शिल्डदेखि नै जिल्लामैं प्रथम हुँदै आएको छ ।