नेजल ड्रपको नेपालमैं पहिलोपटक उत्पादन शुरू

राधेश्याम पटेल, परवानीपुर, २० फागुन/
जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा १६ वर्षदेखि सञ्चालनमा रहेको म्यागनस फर्मा प्रालिले लगानी विस्तार गरेको छ ।
उद्योगले केही महीनायता रु एक अर्ब लगानी थप्दै उद्योगको उत्पादन विस्तार गरेको हो । वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित करीब एक दर्जन औषधि उद्योगमध्ये उत्कृष्ट उद्योगको रूपमा चिनिने यो उद्योग देशमा सञ्चालित करीब पाँच दर्जन औषधि उद्योगमध्ये गत वर्षको कारोबारको आधारमा सातौं स्थानमा छ ।

आगामी दिनमा विभिन्न इन्जेक्टेबल औषधि विदेश निर्यात गरी आयातलाई प्रतिस्थापन गर्ने नीतिका साथ उद्योगले आक्रामक रणनीतिका साथ उद्योगमा लगानी विस्तार गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सुदीपप्रकाश मास्केले दुई वर्षदेखि उद्योगले भेनेजुएला र मरिससमा औषधि निकासी गरिरहेको बताए । उनले दुई देशमा वार्षिक करीब रु एक/एक करोडको औषधि निर्यात गर्दै आएको बताए ।

नेपालमा नन इन्जेक्टेबल–ओरल सोलिड औषधिको कुल खपतको १० प्रतिशत मात्र उत्पादन हुने गरेको र बाँकी ९० प्रतिशत औषधि भारतलगायतका देशहरूबाट आयात हुँदै आएकामा आयातलाई प्रतिस्थापन गर्न उद्योग व्यवस्थापन समूहले इन्जेक्टेबल प्लान्ट लगाएको उनले बताए ।

उद्योगले अमेरिकी–भारतीय संयुक्त प्रविधिबाट निर्मित आधुनिक मेशीन भिלयाइ विभिन्न औषधि उत्पादनको परीक्षण गरिसकेको उनले बताए ।

उद्योगले मङ्गलवार पत्रकार सम्मेलन गर्दै लगानी विस्तार र नयाँ प्लान्टबारे जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा म्याग्नस फर्माका प्राविधिक निर्देशक सर्वोत्तम गिरी, वित्तीय निर्देशक विनीत लोहिया, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रदेश अध्यक्ष श्याम बन्जारालगायतको सहभागिता थियो । पत्रकार सम्मेलन अघि उद्योगले पत्रकारहरूलाई उद्योगको स्थलगत भ्रमण गराएर यसबारेमा जानकारी गराएको थियो ।

तीन बिघा क्षेत्रफलमा उद्योग सञ्चालन भएको छ । नयाँ प्लान्टसँगै औषधि भण्डारणको लागि वातानुकूलित ७,८८६ वर्गफिट क्षेत्रफल बराबरको आधुनिक वेयरहाउस पनि निर्माण गरिएको उद्योग सञ्चालक समितिका अध्यक्ष सन्दीप तुल्स्यानले बताए । उनले औषधि संवेदनशील वस्तु भएकोले सुविधासम्पन्न भण्डारणको व्यवस्था गरिएको बताए ।

उनले गत आवमा उद्योगले करीब रु एक अर्ब १६ करोडको कारोबार गरेकोमा चालू आव २०८१/८२ मा गत आवको तुलनामा २४ करोड बढी कारोबार गर्ने लक्ष्य राखेको बताए । चालू आवमा कारोबार बढाएर मुलुकमा उत्कृष्ट पाँचौं औषधि उत्पादकमा पर्ने लक्ष्य रहेको अध्यक्ष तुल्स्यानले बताए । उनले अहिले तीन सय मानिसले उद्योगबाट प्रत्यक्ष रोजगार पाएको बताए ।

उद्योगमा थपिएको नयाँ प्लान्टले विभिन्न रोगमा काम लाग्ने इन्जेक्टिबल औषधिको भाइल र एम्पुल उत्पादनका साथै आँखा र कानमा प्रयोग हुने ड्रप, नाकमा लगाउने नेजल ड्रपसमेत उत्पादन गर्ने उनले बताए । नेजल ड्रप नेपालमैं पहिलोपटक उत्पादन भइरहेको र
आगामी वैशाखको पहिलो सातामा बजारमा आइसक्ने उनले जानकारी गराए । उनले हाल उद्योगमा करीब सय थरीका औषधि उत्पादन गर्ने सक्ने मेशीन लगाएको तर औषधि व्यवस्था विभागबाट प्रारम्भिक चरणमा २० थरीका औषधि मात्र उत्पादन अनुमति पाएको बताए ।

मुटु, छाती, मधुमेह, मानसिक रोगको ओरल सोलिड (ट्याब्लेट, क्याप्सुल) लगायत औषधि उत्पादन गर्दै आएको यो उद्योगको नयाँ उत्पादनले नेपालको औषधि उत्पादन क्षेत्रमा क्रान्ति ल्याउने दाबी गरिएको छ । विदेशमा उत्पादन हुने औषधिरू नेपालमा नै उत्पादन गरी आयात प्रतिस्थापन गरेर विदेशमा औषधि निकासी गरी देशको वार्षिक व्यापार घाटा घटाउने उद्योगको नीति रहेको उनले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्