शैलेन्द्र झा, रौतहट, २ माघ/
बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवले विकासविरोधी आपराधिक गतिविधिमा लागेका व्यक्तिलाई रौतहटका सांसद प्रभु साहले संरक्षण गरिरहेको आरोप लगाएका छन् ।
भारतीय सिमानादेखि दुर्गा मन्दिरसम्म सडक विस्तार गर्न सर्वदलीय बैठक गरी सर्वसहमतिबाट सडक ४५ फिट चौडाइ गर्ने निर्णयबमोजिम सार्वजनिक बाटो अतिक्रमण गरेकाहरूलाई पटकपटक सूचना गरी हटाउन अनुरोध गरे पनि नहटाएकाले अनधिकृत संरचना हटाउन कानूनबमोजिम कार्य गरिएपछि कर्मचारीमाथि हमला गराएको र सो कार्यमा संलग्न गङ्गाराम बैठालाई प्रहरीद्वारा पक्राउ गरेर अदालतको आदेशमा पुर्पक्षका लागि थुनछेक भएपश्चात् बौधीमाई नगरपालिका–८ निवासी अमर साहले गोली हान्ने धम्की दिएको नगप्रमुख यादवले आरोप लगाए ।
बङ्कुल बजारको लागि केही नगरेका सांसद साहको संरक्षणमा बाटो अस्तव्यस्त पार्ने नियतले अमर साहले केही जनतालाई लिएर नाला निर्माण तथा बाटो विस्तार कार्य रोक लगाउनु विकासविरोधी कार्य भएको उनले आरोप लगाए ।
शिक्षक सुनील यादव, कुश्ती खेलाडी उपेन्द्रदास वैरागी, जगरनाथ यादवका भाइलाई गोली हानी हत्या गर्दा सांसद साहले आन्दोलन नगर्नु, आवाज नउठाउनु, २०५९ भदौ २३ गते साबिक गाविस पथराबुधराम निवासी गोवद्र्धनराय यादव, बुधनराय यादवलाई गोली हानी ज्यान लिएको मुद्दामा २० वर्ष सजाय भएपछि फरार गङ्गाराम बैठाको पक्षमा अदालतको मानमर्दन गर्न पछि नपर्ने सांसदको द्वैध चरित्र उजागर भएको बताए ।
उनले सर्वपक्षीय सहमतिमा निर्माण हुन लागेको सडकको काम अवरुद्ध पार्ने नियत दुःखद भएको बताए ।
सघन शहरी तथा भवन आयोजनाबाट आठ करोड छ लाख बजेटमा साइट क्लियर गर्न तथा नगर पालिकाबाट दुई करोड ४४ लाख ४४ हजार ९३५ रुपैयाँ २८ पैसाको टेन्डर भएपनि साइट क्लियर नभएको कारण निर्माण कार्य अवरुद्ध हुँदै आएको नगरप्रमुख यादवले बताए ।
सांसद साह आफूलाई विकासप्रेमी भएको दाबी गर्दै आए पनि उनले नीतिगत भ्रष्टाचार गर्दै आएको नगरप्रमुख यादवले आरोप लगाए ।
प्रदीपमणि दीक्षितको नाउँमा रहेको जग्गामा बलजफ्ती लक्ष्मीनियाँ देवीको नाममा विद्यालय स्थापना गरी अनियमितता गरेको, मर्यादपुर सरस्वती माविको ठेक्का कमल कन्स्ट्रक्शनलाई एक करोड २६ लाखमा दिई भवन निर्माण भइसक्दा पनि २० लाख बाँकी राखेको, गत आवमा मौलापुर नगरपालिकामा ६० करोड ३५ लाख बेरुजू रहेको, पार्क होटल, पिकनिक पार्क निर्माणमा नगरपालिका र राज्यको रुपैयाँ दुरुपयोग गरेको, तराई–मधेस जनयुद्ध स्मृति प्रतिष्ठानको नाममा १३ करोडभन्दा बढी रकम दुरुपयोग गरेको, तराई–मधेस संस्कृति सङ्ग्रहालयलगायतका काममा अनियमितता गरेको नगरप्रमुख यादवले आरोप लगाए ।