सिराहा, १९ पुस/रासस
सिराहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनीतादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी छन् । खेती गर्न आफ्नो पर्याप्त जमीन नहुने र सामूहिकरूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्पm आकर्षित भएको अनीतादेवीले बताइन् ।
“लामो समयदेखि तरकारीखेती गर्दै आएकी छु । व्यक्तिगतरूपमा खेती गर्नुभन्दा सामूहिकरूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो । त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेका छौं,” उनले भनिन् ।
उनी मात्रै होइन यहाँका २७ जना दलित महिलाले करीब दुई बिघा जमीन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् । ‘सावोरी लघु उद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले जानकारी दिइन् । उनले भनिन्, “सामूहिकरूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ । त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौं ।”
अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताए । यही समूहमार्पmत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ ।
अघिल्लो वर्ष मात्रै माछा बिक्रीबाट रु डेढ लाख आम्दानी गरिएको र छ क्विन्टल आलु उत्पादन गरी रु ७५ हजार खुद नाफा भएको नन्दीलालले बताए । आलु, गोलभेंडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी उत्पादन गर्ने गरिएको उनले जानकारी दिए ।
यहाँका गरीब तथा विपन्न दलित समुदायलाई तरकारीखेतीतर्पm आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गरिरहेको छ । किसानलाई खेतीसम्बन्धी तालीम, बीउबिजन, कृषि सामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबकी सामाजिक परिचालिका सङ्गीता चौधरीले बताइन् ।
उनले नगरपालिकासँग समन्वय गरी तरकारीखेतीको प्रभावकारिता, समस्या तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताए ।
वडा नं १२ का अध्यक्ष बद्रीनारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।