कास्की, २९ साउन/रासस

२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दी खोलामा आयोजनाको निर्माण सकिएर परीक्षण शुरू भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिशन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।

“आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौं । त्यसपछि वेट टेस्ट (पानी भरेर परीक्षण तथा टर्बाइन घुमाउने) शुरू हुन्छ”–प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने ।

‘वेट टेस्ट’को काम सकिएको दुई साताभित्र परीक्षण उत्पादन शुरू हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । सार्दी खोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२.५ मेगावाट क्षमताका दुईवटा टर्बाइनमा खसालिनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारबाट सहयोग मिलेको बताए । उनले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताए । उनले भने–“जलविद्युत्मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिएका छन् । एक हजार पाँच सयजना प्रवद्र्धकको लगानी छ । पारदर्शीरूपमा समयमैं आयोजना पूरा गर्न अहोरात्र खटेका थियौं, उत्पादन शुरू भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”

सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए । सेती नदी जलविद्युत् आयोजनाको काम विसं २०७७ को अन्तिमदेखि शुरू भएको हो । कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here