जनकपुरधाम, २९ साउन/रासस
सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय, जनकपुरधाममा विगतको तुलनामा शैक्षिक सत्र २०८१ मा पाठ्यपुस्तक बिक्रीमा रु दुई करोड ७० लाखले कमी आएको छ ।
सो कार्यालयले गत शैक्षिक सत्र २०८० मा रु २६ करोड मूल्य बराबरको किताब बिक्री गरेको थियो । यस वर्ष रु २३ करोड ३० लाख मूल्य बराबरको किताब बिक्री गरेको बताइएको छ । गत शैक्षिक सत्र २०८० को तुलनामा शैक्षिक सत्र २०८१ मा रु दुई करोड ७० लाखले पाठ्यपुस्तक बिक्रीमा कमी आएको हो । यस वर्षको वैशाखदेखि असारसम्म पाठ्यपुस्तक बिक्री भएको हो ।
कार्यालयका अनुसार चालू शैक्षिक सत्र २०८१ मा कार्यालयले कक्षा १ देखि १२ सम्मका लागि २२ लाख ६४ हजार ६८३ थान पाठ्यपुस्तक बिक्री गरेको छ । मधेस प्रदेशका आठ जिल्लालगायत पहाडी जिल्ला ओखलढुङ्गा, उदयपुर र सिन्धुलीमा रहेका ९६ आधिकारिक विक्रेतामार्पmत सो पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख रुद्र खनालले बताए ।
विद्यार्थीहरूसँग पुरानो पाठ्यपुस्तक भएको तथा विद्यार्थीहरूले बीचमा पढाइ छाडेकाले शैक्षिक सत्र २०८० को तुलनामा यस शैक्षिक सत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी आएको अनुमान खनालको छ । अहिले सो कार्यालयसँग ३५ प्रतिशत अर्थात् आठ लाख थान पाठ्यपुस्तक मौज्दात छ ।