बरहथवा (सर्लाही), २९ साउन/रासस
यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ करोड बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले रु छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।
यस्तै पटके, रूट परमिटलगायत कारबाईबाट रु दुर्ई लाख ९२ हजार ८४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत रु एक करोड ४६ लाख ३८ हजार ३१५ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए । सवारीसाधन करबाट रु चार करोड ७३ लाख ११ हजार ४३६ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा रु ७० लाख बढी राजस्व सङ्कलन गरेको थियो । समयमैं सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन रु ७० लाख बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए ।
“हामीले चैत मसान्तमा एकै दिन रु ७० लाखसम्म राजस्व सङ्कलन गरेका थियौं,” उनले भने, “राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौं । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल)समेत शुरू गरेका छौं । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छ भने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ ।” विसं २०८० मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिइन् । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगंज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।