महोत्तरी, २९ साउन/रासस
नेपाली सेनाले बृहत् वृक्षारोपण अभियान अन्तर्गत मधेस प्रदेशमा यस वर्षको बर्खायाममा हालसम्म ६० हजारको सङ्ख्यामा वृक्षारोपण गरेको छ । मधेस प्रदेशमा प्रकृति संरक्षण र हरियाली प्रवद्र्धन शुरू गरिएको बृहत् वृक्षारोपण अभियानमा पछिल्लो असार र साउनमा उक्त सङ्ख्यामा वृक्षारोपण गरिएको सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिबास महोत्तरीले जनाएको छ ।

सेनाले साउनको चौथो साताभित्र महोत्तरी र धनुषाको सीमाक्षेत्रमा पर्ने धनुषाको मिथिला–११ को मोतीखोला सामुदायिक वन क्षेत्र र बगरटोलमा गरी सात बिघा क्षेत्रफलमा १० हजारको सङ्ख्यामा वृक्षारोपण गरेको जनाएको छ । यहाँ गत बिहीवार मधेसका मुख्यमन्त्री सतीशकुमार सिंहबाट वृक्षारोपण थालिएको थियो । यसअघि असारमा सिराहाको मिर्चैया–६, ७ को पर्ती जग्गामा ५० हजारको सङ्ख्यामा वृक्षारोपण रोपिएको पृतनाका सहायक रथी प्रकाशबहादुर चन्दले जानकारी दिए । वृक्षारोपण गरिएका दुवै ठाउँ चुरे क्षेत्र हुन् ।

चुरे मधेसको जीवन रहेको हुँदा यसको संरक्षणका लागि सघन वृक्षारोपण पहिलो अभिभारा रहेको सेनाको ठम्याइ छ । चुरेका प्राकृतिक स्रोत जमीन, पानी, चरन क्षेत्र र प्राणीको संरक्षण, जीविकाका लागि रूखबिरुवा अनिवार्य भएको सहायक रथी चन्दको भनाइ छ । रोपिएका बिरुवाहरूमा मलेशियन साल, टीक, खयर, अमला र बाँस छन् ।

वृक्षारोपणले अब वन क्षेत्र हराभरा बनाउन सहयोग पुग्ने मोतीखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर विश्वकर्माको विश्वास छ । वन क्षेत्रनजीकको पर्ती जग्गामा अमला रोपिएको छ । यसले बस्ती पसेर हैरान गर्ने बाँदरले केही वर्षभित्रै जङ्गलमैं पर्याप्त भोजन पाउने आशा गरिएको छ ।

भिरालो जग्गामा रोपिएको बाँस झ्याङ्गिदै गएपछि पाखाको माटो बग्ने र पहिरो जाने क्रम पातलिने स्थानीय बताउँछन् । यो अभियान मधेसका आठै जिल्लामा सञ्चालन गरिने सहायक रथी चन्दको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here