बरहथवा (सर्लाही), २८ साउन/रासस
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सर्लाहीको हरिवन नगरपालिकाले उद्यमी महिलालाई सम्मान गरेको छ ।

सोमवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विगत पाँच वर्षदेखि हरिवन नगरपालिका–४ गेल्हामा जुत्ता सिलाउने कारखाना सञ्चालन गरिरहेकी ३२ वर्षीया निर्मला महतोलाई सम्मान गरिएको नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । महतोलाई उदाहरणीय कार्य गरेको भन्दै प्रोत्साहनस्वरूप सम्मान गरिएको उनले बताए ।

“यहाँको समाजमा महिला भनेको चुलोचौकामा सीमित हुन्छन् र त्योभन्दा माथि जान सक्दैनन् भन्ने गलत सोच छ । त्यसलाई जवाफ दिन उद्यमी महतो सफल हुनुभएकाले सम्मान गरेका हौं,” नगरप्रमुख बुढाथोकीले भने, “महतोले चाल्नुभएको कदम अन्य महिलाका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ ।”

सम्मानित भएकी महतोले स्वरोजगार भएर घर खर्च चलाउँछु भनेर शुरू गरेको पेशा उद्योगमा परिणत भएको बताइन् । यसले आफूलाई आर्थिकरूपमा आत्मनिर्भर हुुनुका साथै आत्मसन्तुष्टि र सम्मानसमेत दिएको उनले प्रतिक्रिया दिइन् ।

“हाम्रो समाजमा महिलालाई काम गरिखा सजिलो छैन, त्यसैमा हेयका रूपमा हेरिने जुत्ताको काम झन्कठिन थियो तर मैले आफ्नो कर्ममा निरन्तर लगनशील भएर लागे आज यो अवस्थामा पुगेकी छु ।अरूलाई पनि मेहनत गरेमा एक दिन अवश्य सफल भइन्छ भन्ने उदाहरण मिलेको छ,” महतोले भनिन्, “तीनै तहका सरकारले युवालाई इच्छाएको सीपसँगै उद्यमी बन्न प्रोत्साहन सहयोग गर्न सके युवा विदेशिने क्रम पनि रोकिनेछ । यसतर्फ ध्यान दिन आग्रह गर्छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here