गोदार (धनुषा), २७ साउन/रासस
हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिराहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण सङ्घर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
सिराहाका इन्जिनीयरहरूको अगुवाइमा गठित सङ्घर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सूत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको सिराहा नगरपालिकाका इन्जिनीयर एवं सङ्घर्ष समितिका संयोजक प्रवीणकुमार यादवले जानकारी दिए । माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उनले बताए ।
ज्ञापनपत्र बुझाउनु अघि धनुषा र सिराहाका विभिन्न ठाउँबाट राजनीतिकर्मी, बुद्धिजीवी, युवा र सरोकार भएकासहित बृहत् ¥याली निकालिएको थियो । ज्ञापनपत्रमा सङ्घीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ ।