काठमाडौं, २६ साउन/रासस
पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ । चार दिनयता ७२२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार ३६५ जनामा डेङ्गी पुष्टि भएको थियो । यो सङ्ख्या शुक्रवारसम्म तीन हजार ८४ रहेको महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी डेङ्गी तनहुँमा ५८३ जनामा देखिएको छ । काठमाडौं जिल्लामा ३०७, कास्कीमा १६६ र झापा १३५ जना डेङ्गी सङ्क्रमित देखिएका छन् ।
स्वास्थ्य मन्त्रालयले डेङ्गीे सङ्क्रमितको सङ््ख्या बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । ४७ मा हैजा पुष्टि यस्तै, महाशाखाका अनुसार हैजाका बिरामीका सङ्ख्या ४७ पुगेको छ । कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौं, प्यूठान, कैलाली र रूपन्देहीमा हैजाका बिरामी देखिएका बताए । उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ, प्यूठानमा दुई र रूपन्देहीमा एकजनामा हैजा पुष्टि भएको छ ।