चितवन, २४ साउन/रासस
आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसङ्ख्या बराबर एकजना आँखारोग विशेषज्ञ आवश्यक हुने भएपनि न्यून जनशक्तिले सेवा दिंदै आएको छ । नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष प्राडा मीनु चौधरीले नेपालमा ४८२ मात्रै नेत्र चिकित्सक रहेको जानकारी दिइन् । उनका अनुसार नेपालको पछिल्लो जनसङ्ख्याको हिसाबले तीन हजारभन्दा बढी नेत्र चिकित्सक आवश्यक पर्छ ।

अर्कोतर्पm भएका चिकित्सकहरू पनि शहरकेन्द्रित छन् । प्राडा चौधरीका अनुसार काठमाडौंमा मात्रै ६० प्रतिशत चिकित्सकले सेवा दिन्छन् । बाँकी ४० प्रतिशत पनि देशका प्रमुख शहरका अस्पतालहरूमा सेवा प्रदान गर्छन् । सोसाइटीमा दर्ता भएका चिकित्सकमध्ये एक सय हाराहारी नियमित काममा छैनन् । २० प्रतिशत हाराहारी विदेश भएको अनुमान छ । उनी भन्छिन्– “सहज आँखा उपचारका लागि चिकित्सकको सङ्ख्या बढाउनुपर्छ ।”

सन् १९८७ देखि नेपालमा आँखा उपचारका लागि विशेषज्ञ चिकित्सक (अप्थाल्मिक साइन्स)को अध्ययन–अध्यापन शुरू भएको हो । आँखाका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण संस्थामा सिट सङ्ख्या बढाएर थप जनशक्ति उत्पादनमा लाग्नुपर्ने उनको भनाइ छ । उनले भनिन्–“अहिलेको जनशक्ति निकै कम छ, यसलाई बढाउँदै लग्नुपर्छ ।” ग्रामीण क्षेत्रका बासिन्दाले सेवा पाउन अझै कठिन छ । विभिन्न अस्पताल र सामाजिक सङ्घसंस्थाले गाउँगाउँमा लैजाने शिविरको भरमा ग्रामीण क्षेत्रको आँखा उपचार धानिंदै आएको छ । देशभर आँखा उपचारको सञ्जाल फैलाएको नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्त सेवा विस्तार गर्दै गर्दा आँखा उपचार सेवाका लागि दक्ष जनशक्ति पाउन कठिन हुने गरेको बताउँछन् । देशभर २८ अस्पताल र १६० आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको सङ्घका अस्पतालहरूमा एक सय हाराहारी चिकित्सक कार्यरत छन् । उनका अनुसार स्थापनाकालदेखि हालसम्म सङ्घको सञ्जालमार्पmत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवाप्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।
गत वर्ष सङ्घको नेटवर्कमार्पmत ३३ लाख २३१ जनाको आँखाको परीक्षण गरिएको छ भने दुई लाख ६७ हजार १३५ जनाको आँखाको शल्यक्रिया भएको छ ।

अध्यक्ष पन्तले सकेसम्म ग्रामीण क्षेत्रसम्म सेवा दिएको जानकारी दिंदै आर्थिक, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीका अभावमा चाहे जति आँखा सेवा गर्न नसकेको बताए । उनले भने–“सेवा द्रुत गतिमा विस्तार गर्दैछौं, दक्ष जनशक्तिको अभाव छ ।” कतिपयलाई अस्पतालहरूले ‘फेलोशिप’ दिएर पढ्न पठाउने गरेको उनको भनाइ छ । अध्यक्ष डा पन्त पढाइरहेको सिट सङ्ख्या वृद्धि गरेर चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव दिन्छन् । अझै पनि सङ्घीय राजधानीबाहिर चिकित्सकको अभावमा आम नागरिकले सहज उपचार पाउन सकेका छैनन् । आँखा रोगको उपचार समयमा हुन सकेमा अन्धोपन हुनबाट बचाउन सकिन्छ । नेत्र सहायकको भरमा ग्रामीण क्षेत्रका उपचार केन्द्रहरूले सेवा दिंदै आएका छन् ।

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सबै क्षेत्रमा चिकित्सक पर्याप्तता नरहेको बताए । सरकारले सेवा मात्रै खोज्ने र गुणस्तरीय सेवामा ध्यान नदिने गरेको उनको भनाइ छ । आँखा क्षेत्रमा नेत्र विशेषज्ञहरू जनसङ्ख्याका आधारमा निकै कम रहेको जनाउँदै उनले यस क्षेत्रमा पनि दरबन्दी बढाएर सेवा विस्तार गर्नुपर्ने बताए । उनले भने–“जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here