महोत्तरी, २२ साउन/रासस

गौशालामा स्थापना भएको मालपोत तथा नापी कार्यालयले सेवा सञ्चालनको तयारी गरेको छ ।

केही वर्ष पहिले कार्यालय स्थापना गरिए पनि जिल्ला सदरमुकाम जलेश्वरस्थित मालपोत तथा नापी कार्यालयबाट नक्शा, अभिलेखलगायत कागजात ल्याउन नसकिएपछि सेवा सञ्चालन हुन सकेको थिएन ।

सोमवार कार्यालयका लागि आवश्यक नक्शा, अभिलेख र कागजात ल्याइएको छ । उक्त कागजात ल्याइसकेपछि अब सेवा सञ्चालनको तयारी गरिएको कार्यालय प्रमुख जीतेन्द्र झाले जानकारी दिए ।

सोमवार राति गौशालाका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको अगुवाइ तथा जलेश्वर र गौशाला मालपोत कार्यालयको समन्वयमा आवश्यक अभिलेख ल्याएपछि सेवा सञ्चालनको तयारी गरिएको हो । यस अघि जलेश्वरस्थित कार्यालयबाट कागजात ल्याउन जलेश्वरका लेखापढी व्यवसायीले विरोध गर्दै आएका थिए । कार्यालयले एक साताभित्रै सेवा शुरू गर्ने तयारी गरेको प्रमुख झाले बताए ।

“कार्यालय प्रयोजनका मोठ, श्रेस्ता, नक्शा, अभिलेख र सम्बद्ध कागजात आएका छन्,” झाले भने, “यिनलाई व्यवस्थित गर्न एक साता लाग्छ होला, त्यस लगत्तै सेवा शुरू गर्नेछौं ।”

नापी तथा मालपोत कार्यालयले सेवा शुरू गरेपछि गौशाला क्षेत्रमा आर्थिक गतिविधि बढ्ने गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामराजाप्रसाद साहले बताए । मालपोतले सेवा सञ्चालनको तयारी गरेसँगै जिल्लाको पश्चिमी क्षेत्रका सर्वसाधारणले सहजरूपमा सेवा पाउने आशा गरेका छन् । कार्यालयले हालको गौशाला र औरही नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवाप्रवाह गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here